डेढ महिनादेखि बेपत्ता दुई बालिका अझै फेला परेन



रामधन राई, खोटाङ ।
डेढ महिना अघिदेखि बेपत्ता खोटाङका दुई बालिका अझै फेला पर्न सकेको छैन । गत असार ३ गतेब अचानक घर छोडी हिँडेका खोटेहाङ गाउँपालिका–८ सिम्पानी कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्र्षीया कृष्णकुमारी तामाङ अझै फेला पर्न नसकेको हो ।
कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत कृष्णको खोजीमा परिवार, आफन्त, छरछिमेक, प्रहरी जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । परिवारले दुइ बालिका हराएको ६ दिनपछि अर्थात असार ८ गते प्रहरीमा निवेदन दिएको थियो ।
दुवै बालिकाको हुलिया जारी गरी ब्यापक खोजतलास गरिरहे पनि हालसम्म फोला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्रकुमार राजबंशीले बताउनुभयो ।
खोजी कार्य जारी राखिए पनि बालिकाद्वय सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । उनीहरुलाई कसैले ललाईफकाई कतै लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई चार दिनदेखि सम्पर्कबिहिन बनेका छन् । गत सोमबार घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो । सोझो र प्रष्ट मुख नलाग्ने प्रदिपले मावला खाल्ले हुँदै टेम्मा जान्छु भनेर साथीहरुलाई बताएका थिए । तर खाल्ले र टेम्मामा नभएको आमा चित्रकुमारीको भनाई छ ।
प्याजी रंङको ज्याकेट, निलो पाईन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि असार १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्