मृत्युको २५ दिन भइसक्दा समेत शव झिकाउन खर्च नहुँदा रुवाईमै परिवार



सरोज यादव, मोरङ ।
मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ स्थित अमरदह बजार यतिबेला शोकमा डुबेको छ । वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका २९ वर्षीय सन्तोष विष्टको सडक दुर्घटनामा परी मृत्यु भएको खबरसँगै अमरदहबासी शोक डुबेका हुन् । अझ मृत्यु भएको २५ दिन भइसक्दा पनि शव झिकाउन आवश्यक खर्च नहुँदा यतिबेला ६० वर्षीय वावु नरेन्द्रबहादुर विष्ट, ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र जीवन सङ्गीनी सरिता रोएर दिन बिताइरहेका छन् । विष्ट दम्पत्तिले आफ्ना छोराको शव नेपाल ल्याउन अथक प्रयास गरेता पनि आर्थिक अभावका कारण समस्या भएपछी हाल बिष्ट दम्पत्तिले आफनो छोराको शव नेपाल ल्याइदिन सरोकारवाला निकाय र सरकारसँग आग्रह गरेका छन । शोकले विष्ट परिवारको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भने – १३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । आखाँभरि आँशु पार्दै उनले भने –शब ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ? दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको हो । सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नु पर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । सन्तोष दलाल मार्फत दुवईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाई छ । गाउँका आशलाग्दो युवकको दुर्घटनामा परेर मृत्यु भएपछि सुनवर्सी नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप तामाङले शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद रुपियाँ सहयोग गरेका छन् । निकै भावुक र आखा बाट आसु खसाल्दै आफ्नो वडाको वासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैसियतले आफुले व्यतmीगत रकम सहयोग गरेको तामाङले बताए । लाश ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सहयोग सङ्कलनमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्