हात–हातमा बेचिन्छन्, नेपाली महिला



नेपाल समाचारपत्र, बाँके ।
बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।
दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन । रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो ।
एक जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहेछ भन्ने यो एउटा उदाहरणमात्र हो ।
माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा बसेर गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्लीबाट दुबईको उडानमा गइन् । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥याउन श्रीमान गएका थिए ।
दुबईमा तीन घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा बंगालीले नेपाली महिलालाई सहयोगी राखेर खोलेको कोठामा पु¥यो । त्यहाँ अरु १५÷१७ जना नेपाली महिला थिए । रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो ।
दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए । त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।
६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिंसा भयो । त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा सात दिन बस्दा पनि रामकलीलाई हिंसा भयो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।
तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो । एवं रीतले रामकलीले सात महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् । शुरुका तीन वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलालमार्फत उद्धारको प्रक्रिया अघि बढाएको थियो ।
रामकलीले कुवेतमा सात महिना काम गरिन् । तीन महिनाको मात्रै तलव पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले । दुःख सहेर पनि उनले ९० हजार रुपैया घरमा पठाइन् ।
रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उद्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मानेर केआई नेपालले परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबातसँग समन्वय गरेर रामकलीलाई नेपाल झिकाएको छ ।
साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्रीमान पनि एयरपोर्टमा पुगेका थिए । ३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक होटलमा बसे । बुढाबुढीको राम्रै गफ भए ।
भोलीपल्ट घरमा आए । रामकलीसँग भएको पैसाले घरमा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कपडा किनियो । पैसा सकियो । पैसा सकिएपछि श्रीमानले रामकलीलाई ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइजा, एड्स सर्छ’ भनेर कुटपिट गर्न थाले । एक ठाउँमा सुत्न पनि छोडे ।
विदेशमा दुःख पाएर आएकी रामकलीलाई यतिबेला घरपरिवारले पनि कष्ट थपिदिएको छ । स्थानीयदेखि काठमाडौंका दलालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएकी रामकलीलाई घरपरिवारले उल्टै पीडा थपिदिएको छ । ‘अब म श्रीमानसँग सम्बन्ध गर्छु र दलाललाई कारबाही गराउँछु, रामकलीले भन्नुभयो ।
रामकलीको पनि दोस्रो विवाह हो । उनका पहिलाका पतिबाट पाँच सन्तान छन् । दोस्रो विवाह गरेको साढे पाँच वर्ष भएपनि बच्चा भइसकेको छैन । रामकलीलाई काठमाडौंको दलालसमक्ष पु¥याउने दलबहादुर श्रीमानका आफन्त नै हुन् । आफन्तलाई बचाउन श्रीमान लागेका छन् । केआई नेपालको सहयोगमा यतिबेला रामकली दलाललाई कारबाही गराउन लागि परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्