‘दलित भएकै कारण जागिरबाट निकालियो’ न्याय दिलाउन युवतीको माग



रामधन राई,
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती आधारभूत बिद्यालयका कार्यालय सहयोगीले आफु दलित भएकै कारण जागिरबाट निकालिएको गुनासो गर्नुभएको छ ।

उक्त बिद्यालयमा कार्यरत सोही स्थानकी विन्दा घिमिरे(बिश्वकर्मा) ले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गर्नुभएको छ ।
विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल समक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो माग गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक शिक्षक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबरजस्ती जागिरबाट निकालेको विश्वकर्माले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेतले आफुले पकाएको चिया र तातो पानी समेत नखाने गरेको बिश्वकर्माको भनाई छ ।
विश्वकर्माले दिनुभएको ज्ञापनपत्रमा दुवैलाई जातीय विभेद सम्बन्धी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्याको समाधान गर्ने बताउनुभएको छ । घटना गम्भीर भएकोले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने सम्बन्धित निकायले जनाएको छ ।
लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आउनुभएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाएको ज्ञापनपत्रमा उल्लेख छ ।
आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाउने गरेको विश्वकर्माले दिनुभएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्