३ सय प्रतिशतभन्दा बढी भन्सार महसुल वृद्धि पछि तेलको उत्पादनमा कटौती



सरोज यादव, विराटनगर ।
सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत सोयाविन र सनफ्लावर तेल उद्योगको कच्चापदार्थ आयातमा ३ सय प्रतिशतभन्दा बढी भन्सार महसुल वृद्धि र भ्याट फिर्ता खारेज गरेपछि उद्योगीहरूले उत्पादन कटौती गरेका छन । बजेटबाट सरकारले ४० प्रतिशत भ्याट फिर्ताको प्रावधानसमेत खारेज गरेको छ । यसअघि कच्चापदार्थको आयातमा साढे २ प्रतिशत लाग्दै आएकोमा साउन १ देखि १० प्रतिशत भन्सार महसुल लागू गरिएको छ ।

जसका कारण उत्पादन लागतमा समेत वृद्धि भएको छ । महसुल वृद्धिसँगै सोयाविन र सनफ्लावर तेलको होलसेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि भइसकेको छ । सरकारी नीतिकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित तेल उद्योगले अहिले ५० प्रतिशत उत्पादन कटौती गरेका छन् । विगतमा प्रति महिना ४ सयभन्दा बढी मेट्रिक्टन तेल उत्पादन हुदै आएकोमा करकै कारण प्रति महिना तेल उत्पादन २ सय मेट्रिक्टनको हाराहारमिा झरेको छ । उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य नन्दकिशोर राठीका अनुशार सरकारी नीतिकै कारण उद्योगले ५० प्रतिशत उत्पादन कटौती गर्नुपरेको छ । उनले बजारको अवस्था हेरेर अझै उत्पादन कटौती गर्ने कि भन्ने योजनामा उद्योगीहरू रहेको पनि बताए ।

सरकारले साउन १ देखि लागू हुनेगरी मजदुरको पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पु¥याउने निर्णय गरिसकेको छ । यसको मार पनि उद्योगहिरुलाई परिरहेको छ । भारतलगायत अन्य मुलुकबाट आउने तयारी तेलसित अब आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो पर्ने उद्योगी नरेश राठीको भनाई छ । तयारी तेलको भन्सार महसुल १५ प्रतिशत छ । साढे २ प्रतिशत कच्चापदार्थको भन्सार हुँदा पनि १५ प्रतिशत थियो र अहिले कच्चापदार्थको १० प्रतिशत भन्सार महसुल पु¥याउँदा पनि तयारी तेलको १५ प्रतिशत नै भन्सार महसुल छ । कच्चापदार्थ र तयारी तेलको भन्सार अन्तर ५ प्रतिशतमात्रै फरक छ । यसले आयात वृद्धि हुने उद्योगीहरू बताउँछन् ।

विद्युतको भोल्टेज तलमाथि हुने समस्या, प्रतिस्र्धात्मक क्षमतामा ह्रास, भन्सार महसुल, मजदुरको पारिश्रमिक र बैंकको ब्याज वृद्धिका कारण उद्योग सञ्चालन गर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । तीनै तहको निर्वाचनपछि बनेको सरकारले लगानीमैत्री वातावरण बनाउने आशमा बसेका उद्योगीहरू बजेटपछि झनै निराश बनेका छन् । निजी क्षेत्रलाई बेवास्ता गरेर बजेट ल्याएकोमा उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराइसकेका छन् । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सोयाविन र सनफ्लावर तेल उत्पादन गर्ने पशुपति, बाबा, स्वस्तिक, वागमती र क्वालिटी गरी ५ उद्योग सञ्चालनमा छन् । ५ वटा तेल उद्योगमा मात्रै ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । श्रीराम र अरुण वनस्पति तेल उद्योग भने बन्द भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्