रुहानीसँग विना सर्त वार्ता गर्न तयार: ट्रम्प


वार्ताका लागि परमाणु सम्झौतामा फिर्ता हुनु पर्छ: इरान

तेहरान/वासिङटन (एजेन्सी)
इरानी समकक्षीसँग वार्ता गर्न इच्छुक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीका विषयमा इरानी अधिकारीहरुले त्यसका लागि अमेरिका परमाणु सम्झौतामा पुन फर्कनु पर्ने प्रतिक्रिया दिएका छन् ।

यदि ट्रम्पले वार्ता गर्न चाहेको हो भने उसले यसै बर्षको सुरुवाटतीर एकपक्षिय रुपमा आफु बाहिरिएको अन्तराष्ट्रिय परमाणु सम्झौतामा पुन सहभागी हुनु पर्ने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार यदि इरानी नेताले चाहेमा आफु कुनै पनि बेला इरानी राष्ट्रपति हसन रुहानीसँग भेट्न तयार रहेको बताएका थिए ।

ट्रम्पको उक्त टिप्पणीपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै रुहानीले परमाणु सम्झौतालाई जोगाउन त्यसमा संलग्न अन्य देशले प्रतिबद्धता अनुरुपको प्रयास गर्नु पर्ने बताए । तर उनले ट्रम्पको नाम भने लिएनन् ।

परमाणु सम्झौतालाई लिएर हामी इतिहासको अत्यन्त गम्भिर विन्दुमा पुगेका छौं र अमेरिका गैरकानुनी ढंगले यसबाट फिर्ता भएकोमा क्षतिपुर्ति तिराउन युरोपले पारदर्शी कदम चाल्नु इरानका लागि अत्यन्त महत्वपुर्ण हुनेछ – नयाँ बेलायती राजदुत रब म्याकेरसँगको कुराकानीमा रुहानीले बताए ।

उक्त सम्झौताको रक्षाका लागि बेलायत, चीन, जर्मनी, फ्रान्स, रुस र युरोपेली युनियनसँग वार्ता गरिरहेका छन् ।

परमाणु सम्झौताबाट अमेरिका फिर्ता भएको मुद्दामा ट्रम्पसँग अलगै वार्ता गर्ने कुरालाई इरानले यसअघिनै अस्विकार गरिसकेको हो । उक्त सम्झौता अनुसार इरानले उसको परमाणु कार्यक्रम रोक्नु पर्ने र त्यसको बदलामा उसमाथिको नाकाबन्दी खुकुलो पार्ने उल्लेख छ ।

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले बिना सर्त कुनै पनि समय इरानी समकक्षीसँग भेटवार्ता गर्न तयार रहेको बताएका थिए । ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्रीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने– म भेटवार्तामा विश्वास गर्छु । म जोसँग पनि भेट्न सक्छु । यदि उसले चाहेमा हामी भेट्न सक्छौं ।

पुरानो परमाणु सन्धीको स्थान अरु नै राम्रो समाधान खोज्नका लािग वार्ता गर्न चाहेको पनि ट्रम्पले बताए । इरानी राष्टपतिका सल्लाहकार हमिद अबुतलेबीले कुनै वार्ताका लागि मार्ग प्रसस्त गर्न पहिला अमेरिका परमाणु सम्झौतानमा फिर्ता हुनु पर्ने प्रतिक्रिया दिए ।