पाकिस्तानलाई मद्दत नगर्न आईएमएफलाई अमेरिकाको चेतावनी


इस्लामाबाद/वासिङटन (एजेन्सी)
अमेरिकाले आर्थिक संकटको संघारमा पुगेको पाकिस्तानलाई ऋण सहयोग नगर्न अन्तराष्टिय मुद्रा कोषलाई दवाव दिइरहेको छ ।

पाकिस्तानमा चुनाव सम्पन्नपछि चाँदै पुर्व क्रिकेटर इमरान खान प्रधानमन्त्रीको कुर्सीमा हुनेछ । चुनावपछि को नयाँ सरकार आर्थिक मद्दतका लागि अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सरणमा जानु पर्ने स्थिति रहेको बताइएको छ । यसअघि पनि पाकिस्तानले १२ पटक आइएमएफबाट ऋण सहयोग लिइसकेको छ ।

तर यसपटक भने आईएमएफको सम्भावित मद्दतमा अमेरिकाले आपत्ती देखाइरहेको छ । चीनको ‘वन बेल्ट, वन रोड‘ परियोजनामा पाकिस्तान सबैभन्दा महत्वपुर्ण देश हो र उसलाई तत्काल आर्थिक मद्दतको आवश्यक छ ।

पाकिस्तानलाई लिएर आईएमएफलाई अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले चेतावनी दिँदै उनको ध्यान आईएमएफ तर्फ रहेको बताएका छन् ।

पोम्पियोले भने– हामी आईएमएफले के गर्छ हेरिरहेका छौं । आईएमएफले कुनै गल्ती गर्नु हुँदैन ।

सीएनबीसीलाई दिएको अन्तरवार्तामा आफु पाकिस्तानसँग पारस्पारिक फाइदाका सम्बन्ध अगाडी बढाउन चाहेकोे पोम्पियोले बताए । आईएमएफबाट पाकिस्तानलाई डलर दिनु तार्किक नहुने अमेरिकी विदेश मन्त्रीले बताए ।

आईएमएफको कोषमा अमेरिकी डलरको ठुलो योगदान रहेको र यदि उसले दिनु नै छ भने चिनियाँ बन्ड वा चीन आफैले कोष दिएपनि हुने पोम्पियोले बताए ।

पाकिस्तानको विदेशी मुद्रा भन्डार अत्यन्त कम भइसकेको बताइएको छ ।
पाकिस्तानको तहरिक ए इन्साफ पार्टीको नयाँ सरकार इमरान खानको नेतृत्वले ११ अगस्टमा सपथ लिने सन्चार माध्यमहरुले जनाएका छन् । नयाँ सरकारले अन्तराष्ट्रिय मुद्रा कोषसँग आर्थिक मद्दतका लागि तत्काल सम्पर्क गर्ने छ ।

पाकिस्तानको निर्यातमा लगातार कमी आइरहेको छ । उसको ऋणको दायरा पनि लगातार बढिरहेको छ । पाकिस्तानका वरिष्ठ अधिकारी अन्तराष्टिय मुद्रा कोषबाट १२ अर्ब डलरको आर्थिक मद्दतका लागि वातावरण तयार गरिरहेको बताइएको छ ।

यसैबीच आईएमएफका प्रवक्ताले उक्त संस्थामा पाकिस्तानबाट सहयोगका लािग कुनै प्रकारको अनुरोध नआएको बताए । अहिले कोषमा पाकिस्तानको उक्त मुद्दामा कुनै चर्चा पनि नभएको उनले बताए ।

चीनको महत्वाकांक्षी परियोजनामा सहभागी भएपछि पाकिस्तानले कयौं पटक ठुला ऋण लिइसकेको छ । केही अर्थशास्त्रीहरुले पाकिस्तानलाई बढ्लो चिनियाँ ऋणलाई लिएर चेतावनी पनि दिएका छन् ।

जुलाइ २० मा स्टेट बैंक अफ पाकिस्तानको तर्फबाट जारी ताजा आंकडामा पाकिस्तानसँग मात्र ९ अर्ब डलर जगेडा रहेको उल्लेख गरिएको थियो । यो दुई महिनाको आयात धान्नलाई पनि पर्याप्त नभएको बताइएको छ ।

आईएमएफबाट आर्थिक सहयोग नभएमा पाकिस्तान फेरी चीनकै सरणमा जानु पर्ने हुनसक्छ । गत बर्षमात्रै पाकिस्तानले चीनबाट ५ अर्ब डलर ऋण लिइसकेको छ ।

पाकिस्तानी रुपैयाँ गत आर्थिक बर्षमा डलरको तुलनामा २० प्रतिशत गिरावत आइसकेको छ । पश्चिमका अर्थशास्त्रीहरुले पाकिस्तानको मुद्रा रुपैया अझै १० प्रतिशतले अवमुल्यन हुन सक्ने बताएका छन् ।