प्रदेश नं ७ स्तरीय समीक्षा बैठक



धनगढी ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको प्रदेशस्तरीय समीक्षा बैठकमा विभिन्न मन्त्रालय र निकायद्वारा आर्थिक वर्ष २०७४÷७५ मा गरिएको कार्य प्रगति, देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा समीक्षा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको उक्त समीक्षा बैठकले गत आवमा देखिएका संरचनागत तथा व्यवस्थापकीय चुनौतीबाट अनुभव लिई चालू आवको बजेट तथा कार्यक्रम कार्यान्वयन नीति तथा कानूनको निर्माणतर्फ प्रभावकारिता बढाउन कार्ययोजनासहित कार्यान्वयन गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी सञ्चालनमा रहेको ‘हेलो सिएम’ गुनासो व्यवस्थापनलाई प्रदेशभर परिणाममुखी बनाउन चालू आवमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रदेश नं ७ को सरकारले गत आवमा कूल रु एक अर्ब दुई करोड पाँच लाख बजेट विनियोजन गरेकामा सो बजेटको पूँजीगत र चालू खर्चतर्फ समग्रमा ५४ दशमलव २५ प्रतिशत प्रगति भएको, प्रदेश सरकारले २१ वटा कानून जारी गरेको, १२ वटा कानून अग्रिम कार्यान्वयनको चरणमा रहेको र करीब दुई दर्जन नीति एवं कानून तत्काल तर्जुको प्रक्रियामा रहेको, प्रदेश नं ७ मातहत ११ मूल निकायसहित जम्मा ७९ वटा निकाय रहेकामा यसरी थपिन आएका नयाँ संगठन संरचनालाई व्यवस्थित बनाउनेबारे आवश्यक कार्य गरिन लागिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा प्रदेश सरकारका मन्त्री र विषयगत मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्