सहिद मनोजको २८ औं स्मृति दिवस



रामधन राई, खोटाङ ।
खोटाङमा सहिद मनोज जोशीको २८ औं स्मृति दिवस विबिध कार्यक्रमको साथ मनाईएको छ । नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेको अवस्थामा प्रहरीको गोली लागेर मृत्यु भएको जोशीकोे स्मृतिमा विभिन्न कार्याक्रमको आयोजना गरिएको हो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार र कर्मचारीबीच भएको सम्झौता अनुसारको सेवा सुविधा सरकारले नदिएको बिरोधमा २०४८ साल साउन–१५ गते कर्मचारीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली प्रहार गरेका थिए । जुलुस दिक्तेलको हेलिप्याड नजिकै पुगेपछि प्रहरीले अन्धाधुन्द गोली चलाउँदा मनोजको मृत्यु भएको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ का रुपमा लिने गरिन्छ ।
सरकारको बिरोधमा निकालिएको जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा जोशीलाई प्रहरीको गोली लागेको प्रत्यक्षदर्शी बताउँछन् । उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस समेत खुवाएर दुव्र्यबहार गरेका थिए ।
सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाइदै आइएको छ । उतिखेरको कर्मचारी आन्दोलनमा सहभागी बनेका जिल्लाका १३ जना कर्मचारी जागिरबाट हटाइएका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो सन्तानका रुपमा जोशीको जन्म २०३० साल असोज–२३ गते भएको थियो । मृतक परिवार र विभिन्न संघसंगठनको दबाबपछि जोशीलाई सरकारले २०७४ साल माघ २२ गते सहिद घोषणा गरेको थियो । जोशीको हत्या भएको २६ वर्षपछि सरकारले सहिद घोषणा गरेपछि जिल्लामा दिपावली समेत गरिएको थियो ।
जोशीको सम्झनामा विभिन्न कार्यक्रम गर्दै खोटाङमा मनोज–झपेन्द्र स्मृति दिवस मनाउँदै आइएको छ । सोही अवसर पारेर मंगलबार मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले संयुक्त रुपमा कार्यक्रम गर्दै मनोज–झपेन्द्र स्मृति दिवस मनाएका छन् ।
दिवसको अवसरमा मंगलबार बिहान दिक्तेलस्थित हस्पिटल चौकमा रहेको सहिद मनोज जोशीको शालिकमा माल्र्यापण गरिएको छ । तीन दिनअघिदेखि मनाउन शुरु गरिएको स्मृति दिवसको अवसरमा आईतबार सरसफाइ र सोमबार हस्पिटलमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभयो ।
दिवसको अन्तिम दिन समापन कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुहुने सरस्वति माविका शिक्षक काजी खतिवडा र पञ्च माविका शिक्षक भविन्द्र कठायतलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङको प्रमुख आतिथ्यमा आयोजना गरिएको समापन कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्नुहुने दिक्तेलका बाबुराम सैंजूलाई समेत सम्मान गरिएको छ ।
मनोजको हत्या भएलगत्तै छानवीन समिति गठन गरेर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्न सरकार समक्ष माग गरिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्