प्रदेश राजधानीमा काँग्रेसको विरोध प्रदर्शन



सरोज यादव, विराटनगर ।
महंगी तथा अत्यधिक कर वृद्धिको विरोधमा नेपाली काँग्रेसले मंगलबार प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा बृहत् प्रदर्शनसहित विरोध सभा आयोजना गरेको छ । मोरङका विभिन्न गाउँबाट विराटनगमा भेला भएका काँग्रेस कार्यकर्ता तथा सर्वसाधारणले सरकारका विरोधमा नारा लगाउँदै विराटनगर बजार परिक्रमा गरेका थिए ।
विभिन्न ठाउँबाट वीरेन्द्र सभागृह र सहिद रंगशाला क्षेत्रमा भेला भएका काँग्रेस कार्यकर्ताको र्याली गोल्छामोड मेनरोड र ट्राफिक चौक हुँदै महेन्द्र चौकमा पुगी विरोध सभामा परिणत भएको थियो । सरकारले वृद्धि गरेको करको विरोधमा नारावाजी गर्दै अघि बढेको जुलुसमा महिलाको उल्लेख्य उपस्थिति थियो । विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले सरकारको चरित्र र व्यवहार अधिनायकवाद उन्मुख भएको आरोप लगाए ।

रिजालले भने,‘दुई तिहाईंको दम्म देखाउँदै नेकपा सरकारले जनहित विरोधी कामलाई प्रश्रय दिई रहेको छ ।’ केन्द्रीय सदस्य अमृत अर्यालले जनताको लागि काम गर्ने भनेर सरकार उल्टे जनविरोधी काममा सक्रिय हन थालेको आरोप लगाए । अर्यालले भने,‘काँग्रेस सरकारले गरेका यसअघिका लोकप्रिय कार्यक्रमलाई समेत कटौती गर्ने सरकारले दुस्साहस गर्दैछ ।’

केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाल महिलाको विषयमा जथाभावी अभिव्यक्ति दिएर मानमर्दन गर्ने मन्त्रीले राजीनामा दिएपनि त्यसमा संलग्न अन्य व्यक्तिलाई पनि कार्वाही हुनुपर्ने माग गरिन । नेता अशोक कोइरालाले कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रदेश सभाका सदस्य केदार कार्कीले कम्युनिष्ट सरकारबाट जनताले धेरै राम्रा चिजको अपेक्षा गर्न नसक्ने बताए ।

कार्यक्रममा काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, तरुण दलका जिल्ला अध्यक्ष सञ्जय थापाले युवाहरु सरकारको दमनविरुद्ध आन्दोलित हुन तयार रहेको बताए । नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला सभापति सुशील कोइरालाले सरकार श्रमजीवी र मजदुरको पक्षमा नरहेको बताए । सभामा भाग लिन मोरङका विभिन्न जिल्लाबाट बसमा चढेर काँग्रेस कार्यकर्ता प्रदेश अस्थायी राजधानी विराटनगर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्