नेपालगञ्ज नाकाबाट ६ सय ३ वटा नाइट्रोभेटसहित एक यूवक पक्राउ



नेपाल समाचारपत्र, बाँके ।
सुर्खेतका १७ वर्षीय किरण बयक नेपालगञ्ज नाकामा ६ सय ३ वटा नाइट्रोभेटसहित पक्राउ परेका छन् ।
सुर्खेतका यी १७ वर्षे किशोरले दाङमा लागु औषधको कारोबार गरिरहेको खुलेको छ । एक अर्का साथीसँग दाङमा बस्ने उनले रुपैडिहाबाट लागु औषध लगेर कारोबार गर्दै आएका छन् । मंगलबार पनि उनी दाङबाट लागु औषध लिन रुपैडिहा आएका थिए । रुपैडिहामा ६ सय ३ थान नाइट्रोभेट किनेर नेपाल प्रवेश गर्दै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लियो । उनले तल्लो पेटमा लुकाएर नाइट्रोभेट ल्याइरहेका थिए ।
किरणका अनुसार, ६ सय ट्याब्लेट दाङमा पु¥याएर बेच्दा २८ हजार रुपैया आम्दानी हुन्थ्यो । रुपैडिहामा प्रति ट्याब्लेट १० रुपैयामा किनेका उनले दाङमा पु¥याएर ४७ रुपैयामा बेच्ने गरेका थिए । ‘६ हजारमा किनेर ल्याएको थिए, दाङमा पु¥याएर बेच्दा २८ हजार हुन्थ्यो, किरणले प्रहरीसमक्ष बताएका छन् ।
किरणले यो नाकाबाट यसअघि थोरै–थोरै लागु औषध लगेको स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार, किरणले यसअघि यो नाकाबाट तीन सय ट्याब्लेट नाइट्रोभेट पास गरिसकेका थिए । यसअघि पास गर्दा प्रहरीले थाहा नपाएको र पटक–पटक आइरहनु भन्दा यसपाली अलि धेरै लिएर जान्छु भनेर लाग्दा किरण प्रहरी फन्दामा परेका हुन् ।
पाइडल रिक्सामा बसेर नाका पार गर्दैगर्दा किरणलाई प्रहरीले समातेको थियो । इलाका प्रहरी कार्यालय, जमुनाहाले पक्राउ गरेर किरणलाई जिल्लामा पठाएको छ ।
सस्तो पर्ने र रुपैडिहामा सहजै पाइने भएकाले लागु औषध प्रयोगकर्ताले नाइट्रोभेटको कारोबार बढाएका छन् । विशेष गरेर, सुर्खेत, दाङ र दैलेखमा अहिले कारोबार बढिरहेको पक्राउ परेका कारोबारीको संख्याले देखाएको छ ।
नेपालगञ्ज नाकामा लागु औषधको कारोबार बढिरहेको प्रहरीले समातेको कारोबारी र लागु औषधको मात्राले देखाइरहेको छ । प्रहरीले दैनिक औसतमा दुई जनालाई पक्राउ गरिरहेको छ । प्रहरीले नाकामा बेलाबेलामा केही घण्टा विशेष निगरानी गर्दा पक्राउ पर्ने मानिसको संख्याले पनि नेपालगञ्जमा लागु औषधको अवस्था भयावह रहेको देखिन्छ । लागु औषध कारोबारका लागि लिन जाने र आउनेमात्रै होइन, दैनिक रुपैडिहाका लागु औषध खाना जानेको संख्या पनि अधिक रहेको छ । प्रहरीले नाकामा कडाई गर्दा प्रयोगकर्ताहरु रुपैडिहामै पुगेर खाएर आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्