आरक्षणको माग गर्दै रेलको अगाडि हाम फालेर आत्महत्या


काठमाडौं  छिमेकी राष्ट्र भारतमा आरक्षणको नाममा भइरहेको आन्दोलनले हिंसात्मक रुपम लिएको छ । भारतको महाराष्ट्रमा मराठा समुदायले आफूहरुलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । यतिबेला उक्त आन्दोलनले हिंसात्मक रुपम लिन थालेको हो ।

सोमबारको आन्दोलनमा धेरै स्थानमा आगजनी, सडक जाम, प्रहरीमाथि आक्रमण लगायतका घटना भए भने एक व्यक्तिले गुडिरहेको रेलको अगाडि हामफालेर आत्महत्या समेत गरे । औरंगावादमा प्रमोद होरे पाटिलले फेसबुकमा स्टाटस राखेर रेलको लिकमा हामफालेर आत्महत्या गरेका हुन् । उनले आइतबार नै आत्महत्या गरेका थिए तर उनको शव सोमबार मुकुन्दवाडी रेलवे स्टेशनमा फेला परेको थियो । यो घटनापछि जिल्लाका केही स्थानमा बन्द आह्वान गरिएको थियो ।

पुणेमा आन्दोलनकारीले एक सय भन्दा धेरै गाडीहरुमा आगजनी गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पुणेको चाकन क्षेत्र र त्यस वरपरका उस्मानावाद, सोलापुर, कोल्हापुर, नन्दुरबार र औरंगावादमा आगजनी, हिंसा र सडक जामका घटनाहरु भएका छन् । पैदल र मोटरसाइकल ¥यालीसहित सरकारविरुद्ध नाराबाजी भएको छ । धेरै क्षेत्रमा प्रहरी कार्यालय आसपास निषेधाज्ञा जारी गरिएको छ ।

मराठा आन्दोलनकारीले पुणेको चाकन, हिजेवाडी, खेड र पुणे–नासिक राजमार्गमा चल्ने पाँच बससहित दर्जनौं गाडीहरुमा आगजनी गरेका थिए भने उनीहरुले चाकन पुलिस थानालाई पनि निशाना बनाएका थिए । उक्त हिंसामा पाँच प्रहरी घाइते भएका छन् ।