बेलायती विदेशमन्त्रीले चिनियाँ पत्नीलाई जापानी बताए


बेइजिङ (एजेन्सी)
बेलायतका नयाँ विदेश मन्त्री जेरेमी हन्ट आफनी चिनियाँ मुलकी पत्नीलाई जापानी भएको बताएर अप्ठ्यारो स्थितिमा फँस्न पुगेका छन् । चीनको भ्रमणका रहेका हन्टले आफनी पत्नीको प्रसंगमा उक्त गल्ती गरेका हुन् ।

चीन र जापान सताब्दियौं देखि शत्रु देशका रुपमा रहेका छन् । अहिले केही बर्ष देखि उनीहरुबीचको सम्बन्ध अत्यन्त सुधार भएको देखिएपनि तनावको स्थिति पनि यथावत छ ।
विदेशमन्त्री जेरेमी हन्ट आफनो पहिलो चीन यात्रामा छन् ।

उनले आफनो गल्ती तत्काल समाउँदै त्यसलाई ‘भयानक गल्ती‘ बताएका थिए । हन्टले आफना चिनियाँ समकक्ष वां यीलाई भने– मेरी पत्नी जापानी …… मेरी पत्नी चिनियाँ हुन् । यो त भयानक गल्ती भयो ।

त्यसपछि उनले भने– मेरी पत्नी चिनियाँ मुलकी हुन र मेरा बच्चा आधा चिनियाँ हुन् । उनका हजुरआमा–हजुरबुवा चीनको शियानमा बस्छन् ।
हन्टले लुसिया गोसँग विवाह गरेका थिए र उनीहरुको तीन सन्तान छन् । जेरेमी हन्टलाई बोरिस जोन्सनले राजिनामा दिएपछि बेलायतको विदेशमन्त्री बनाइएको थियो । हन्ट अहिले ब्रेक्जिटलाई ध्यानमा राख्दै चीनसँगको ब्यापार सम्बन्ध बलियो बनाउने उद्देस्यले चीन यात्रामा छन् ।

ब्यापार, जलवायु र उत्तर कोरिया विरुद्ध राष्ट्र संघिय नाकाबन्दीका विषयमा उनले चिनियाँ नेताहरुसँग वार्ता गर्ने बताइएको छ । चिनियाँ सरकार ब्रक्जिटपछिको बेलायतसँग खुला ब्यापार सम्झौतामा छलफल थाल्न तयार रहेको हन्टले बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोहोरो ब्यापारिक विवादमा चीन अल्झिरहेको बेला उनको उक्त भनाइ आएको हो । ट्रम्पले यसै महिनाको सुरुवाटमा चिनियाँ आयातहरुमा ५ सय अर्ब डलरको अतिरिक्त कर लगाउन सक्ने चेतावनी दिएको थियो । अहिले बेइजिङ जर्मनीको दबावमा पनि परेको छ । उसले राष्ट्रिय सुरक्षाको कारण देखाई चिनियाँ सरकारी उर्जा कम्पनी एसजीसीसीबाट सामान किन्न रोक लगाएको थियो ।