नेपाल समाचारपत्र, काठमाडौं । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा जुटेको सरकारले सम्मेलन अघि ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) आयोजना गर्ने भएको छ ।
सोम जमघटमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरुको संलग्न रहने छन् । आगामी दुई साता भित्रैमा त्यस्तो जमघट गराउने तयारी भइरहेको तर मिति भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘सम्मेलनको पूर्व तयारी स्वरुप सोम मिटिङ गर्ने छलफल भइरहेको छ, मन्त्रालयका एक अधिकारीले भने–‘विदेश मन्त्रालय तहका उच्च अधिकारीहरुको जमघटले घोषणापत्रको मस्यौदा तयार गर्न र अन्य तयारीमा सघाउ पु¥याउछ ।’
ती अधिकारीले भने–‘४ वर्षसम्म सम्मेलन भएन, तोकिएको मितिमा सम्मेलन सफल बनाउने र काठमाडौं सम्मेलन र घोषणापत्र स्मरणीय बनाउने प्रयासमा हामी जुटेका छौ ।’ चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ । दुई वर्ष अघि सन् २०१६ भित्रै हुनुपर्ने चौथो सम्मेलन नेपालकै विविध कारणले धकेलिदै आएको थियो । सन् २०१४ को मार्चमा म्यानमारको राजधानी ने पि तोमा तेस्रो शिखर सम्मेलन सम्पन्न भए पश्चात नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ ।
विमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने प्रचलन छ । सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखलाई सम्मेलनमा सहभागी हुन गत साता औपचारिक निमन्त्रणा पठाइएको परराष्ट्रका सहायक प्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो । सबै किसिमको तयारी भइरहेको छ, सबै मुलुकलाई औपचारिक निम्तो समेत पठाइसकेका छौ ।’ विमस्टेकमा नेपाल सहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।











प्रतिक्रिया