एक वर्षमा ७ हजार ६ सय ९१ वटा अपराधका घटना



सरोज यादव, विराटनगर 
प्रदेश १ मा एक आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन् । ती घटना मध्य असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना घटेका छन । यी घटना धेरैजसो शुक्रबार घटेका छन । यो तथ्याङले प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक वाहिर आएको छ । एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांकहेर्दा शुक्रवारका दिन वढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको छ । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगर  मा शुक्रबार गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक वाहिर आएको हो । शुक्रवारका दिन मध्यान्ह १२ वजेदेखी वेलुकी ६ वजेसम्म वढी आपराधिक घटनाहुने गरेको छ तथ्यांकमा देखिएको छ ।

शनिवार विदा भएकाले शुक्रवारका दिन मादक पर्दाथ सेवनगर्नेको संख्या वढी हुने र मादक पर्दाथका कारण आपराधिक घटना वढी हुने गरेको प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरिक्षक केदार रिजालले वताए । १ नं प्रदेश प्रहरी कार्यालयका अनुसार अपराधजन्य क्रियाकलपाहरु महिनाको हिसाबले असार महिनामा बढी अपराध हुने गरेको तथ्याङक सार्बजनिक भएको छ । आर्थिक बर्ष २०७४–०७५ मा सबैभन्दा बढी असार महिनामा ८ सय ७७ वटा अपराधजन्य क्रियाकलाप भएको डिआइजी रिजालले वताए । आपराधिक घटना नियन्त्रणका लागि एक नम्वर प्रहरी प्रदेश कार्यालयले विशेष सुरक्षा अभियान तथा सुरक्षाका नयाँ रणनिति अघि सारेको जनाएको छ ।

सबैभन्दा धेरै अपराध सुनसरीमा, कम तेह्रथुममा
प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा वढी सुनसरी जिल्लामा अपराधका घटना भएका छन् भने सबैभन्दा कम तेह्रथुम जिल्लामा भएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका अनुशार सुनसरी जिल्लामा एक वर्षमा एक हजार ९ सय ९० वटा अपराधका घटना भएका छन् । उता तेह्रथुम जिल्लामा भने एक सयवटा अपराधको घटना भएका छन् । प्रदेश १ मा कुल १४ वटा जिल्ला रहेका छन् । जसमा गएको आर्थिक वर्षमा कुल ७ हजार ६९१ वटा अपराधका घटना भएका छन् ।

कुल अपराधका घटनामध्ये झापामा एक हजार ६८७, मोरङमा एक हजार ६ सय २७, उदयपुरमा ५३५, पाँचथरमा २८१ वटा घटना भएका छन् । त्यसैगरी इलाम जिल्लामा २४२, संखुवासभामा २१८, ताप्लेजुङमा १६७, भोजपुरमा १६६, खोटाङमा १६०, धनकुटामा १४७, सोलुखुम्बुमा १३१ र ओखलढुङ्गा जिल्लामा १३० अपराधका घटना भएका छन् । यो आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालयमा ७ हजार ६९१ वटा अपराधका उजुरी दर्ता भएकोमा ४ हजार १५९ वटा मुद्धा फर्छ्यौट भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७३÷७४ मा प्रदेश १ मा कुल ७ हजार ९५० वटा अपराधका उजुरी दर्ता भएका थिए । अघिल्लो वर्ष भन्दा यो वर्ष अपराधका उजुरी करिब २ सयको संख्याले कम देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्