बैंकिङ कसुर मुद्दाका अभियुक्तहरु धरौटीमा छुटे

0
Shares

सरोज यादव, विराटनगर
बैंकिङ कसुर मुद्दामा फरार भन्सार एजेण्ट ललित बोहरा र सुरेश बोहरा धरौटीमा छुटेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखा कार्यालय रानी विराटनगरको १० करोड घोटाला प्रकरणमा ६ महिनायता फरार रहेका दाजुभाई सुटुक्क हाजिर भए लगतै धरौटीमा छुटेका हुन् ।

बैंङकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सुरेशलाई ८० लाख र ललितलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उहाँका भाई ललित बोहराका नाममा फागुन पहिलो साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । दाजु भाइले बंैकको १० करोड घोटाला गरेको आरोप थियो ।बैंकिङ कसुर मुद्दामा म्याद जारी भएपछि हाजिर भएका बोहरा दाजुभाइ धरौटीमा छुटेको थियो ।

बैंकको काउन्टरमा बोहरा दाजुभाइले राजस्व बापत बुझाएका एकाउन्ट पेई चेकहरू क्लियरिङ नभएपछि घोटाला भएको खुलेको थियो । मोरङ र सुनसरीका ठँला उद्योगका कच्चापदार्थ एवं ठँला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटकपटक र विभिन्न एकाउन्ट पेई चेक मार्फत् मालवस्तु छुटाएका थिए । तर खातामा रकम नभएकोले ती चेकहरू क्लियरिङ हुन सकेको थिएन ।

चेक क्लियरिङ नभएकोले १० करोड रुपैयाँ नोक्सान भएको भन्दै बैंकले प्रहरीमा उजुरी दिएको थियो ।सो क्रममा बैंकका कर्मचारीद्वय विष्णु निरौला र द्रोण राउत पनि पक्राउ परेका थिए । उनीहरुलाई एक करोड रुपैयाँ धरौटी गरिएकोमा सर्वाेच्चले ७५ लाख रुपैयाँ कायम गरिदिएपछि चलअचल सम्पति धितो राखेर धरौटी जम्मा गरी तारेकमा छुटेका हुन् ।