३ करोड रुपियाँ राजस्व संकलन

0
Shares

मोरङ, (नेस)
मोरङ जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा सवारी साधनमाथि गरिएको ट्राफिक कारबाहीबाट झण्डै साढे ३ करोड रुपियाँ राजस्व संकलन भएको छ । ५४ हजार ९ सय १६ वटा सवारी साधनमाथि गरिएको ट्राफिक कारबाहीबाट ३ करोड ४१ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको हो ।

नियमविपरीत सवारी चलाउनेबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७४÷७५ को असार मसान्तसम्ममा ७ हजार ६ सय ६५ वटा ट्रकलाई कारबाही गरी ३९ लाख ४६ हजार रुपियाँ राजस्व असुली गरिएको जानकारी दिनुभयो ।

त्यस्तै सोही अवधिमा ४ हजार २२ वटा बसलाई कारबाही गरी १९ लाख १ हजार ५ सय रुपियाँ, ११ हजार ५ सय ४्र७ कार÷जिप÷भ्यानलाई कारबाही गरी ५९ लाख १३ हजार ५ सय रुपियाँ राजस्व असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी गत आर्थिक वर्षको सोही अवधिमा ५ हजार ४ सय ४२ ट्याक्टरलाई ट्राफिक नियम उल्लंघन गरेवापत कारबाही गरि २७ लाख ७६ हजार ५ सय रुपियाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै १९ हजार ७ सय ९७ मोटरसाइकललाई कारबाही गरी १ करोड २१ लाख ८ हजार रुपियाँ र ६ हजार ३ सय ४३ ट्याम्पोलाई कारबाही गरी ३१ लाख ९६ हजार रुपियाँ राजस्व संकलन गरिएको पोखरेलले जानकारी दिनुभयो ।