चौरजहारीमा अझै पुगेन लिफ्टको पानी



धनवीर दाहाल, रुकुम ।

नेपालकै दश नमुना शहर मध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको हाहाकार भएको छ । वर्षायामको समयमा पनि प्रयाप्त मात्रामा खानेपानी नहुँदा चौरजहारीवासीलाई समस्या देखिएको छ । तोकिएको समय अवधिभित्र भेरी नदिको पानी लिफ्ट मार्फत चौरजहारीमा नपुग्दा खानेपानीमा समस्या देखिएको हो ।

चौरजहारीलाई दश नमुना शहर अन्र्तगत एक नमुना शहरको रुपमा चिन्ने गरिन्छ । तर नमुना शहरको रुपमा विकास हुँदै गरेको रुकुम पश्चिमको चौरजहारीमा भने लामोसमयदेखी खानेपानीको समस्या यथावत रहेको छ । यसअघि चौरजहारीको खानेपानी समस्यालाई समाधान गर्न गत वर्षको फागुण महिनामा लिफ्ट मार्फत भेरी नदिको पानी वितरण गर्ने भनिएको थियो ।

तर उक्त वितरण गर्ने भनिएको खानेपानी अहिलेसम्म चौरजहारीमा नपुग्दा वर्षायामको समयमा समेत स्थानीयवासीले अटो रिक्सा र गाडीलाई पैसा तिरेर पानीको जोहो गर्नुपरेको स्थानीय लिलावती रानाको भनाई छ ।

रुकुम पश्चिमको चौरजहारीलाई रुकुम, जाजरकोट, सल्याण, डोल्पा लगायतका जिल्लाको प्रमुख ब्यापारिक नाकाको रुपमा लिने गरिन्छ । भौगोलिक रुपमा समथर र विकासका पूर्वाधारले विकसित बन्दै गरेको चौरजहारीमा खानेपानीको हाहाकारले स्थानीयबासीलाई वषौंदेखी पिरोल्दै आईरहेको छ । बजार क्षेत्रमा भएका पाइपलाइनका धाराबाट दिन बिराएर आउने गरेको खानेपानी भर्नकै लागि स्थानीयले तीन दिनसमको पालो कुर्नुपर्ने बाध्यता छ ।

खानेपानीको समस्याले पिडित चौरजहारीबासीलाई स्थानीय सरकारले समेत केही नगरेको जस्तो लागेको छ । खानेपानीकै लागि आफूहरुले पञ्चायतकालदेखी नै ठूलो समस्या भोग्दै आईरहेको अर्का एक स्थानीय वीरबहादुर गिरीले आफ्नो गुणासो सुनाए ।

चौरजहारी नगरपालिकाको वडा नम्बर एक, दुई र तीनका करिब १२ सय घरधूरीलाई लामो समयदेखी शुद्ध पिउने पानीको अभावमा ठूली भेरी नदीको दूषित पानी पिउनुपर्ने बाध्यता छ । वर्षायामको समय बाहेक अरुबेला खानेपानीकै लागि चौरजहारीवासीलाई ठूली भेरी नदीको दूषित पानीले धान्ने गरेको छ ।

खानेपानी अभावका कारण स्थानीय जनप्रतिनिधिसंग गुणासो बढिरहेका बेला चौरजहारी नगरपालिकाले भने अबको एक विर्षभित्रै खानेपानीको व्यवस्था गर्ने तयारी गरेको छ । यसअघि लिफ्ट मार्फत एक घर एक धारा वितरण गर्ने भनिएता पनि प्रविधिले साथ नदिएको र पानी तान्ने मोटार समेत जलेकाले लक्ष्य अनुसारकोे काम गर्न नसकिएको बताईएको छ ।

तरपनि चौरजहारीमा देखिएको खानेपानीको दीर्घकालिन समस्यालाई हल गर्न २१ करोड बजेटमा सुख्खा क्षेत्र ग्रस्त खानेपानीले टेण्डर मार्फत काम अघि बढाएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । खानेपानीको समस्या संगसंगै सिंचाइको समेत अभाव हुनाले चौरजहारीका खेतियोग्य उर्वर जमिनहरु बाँझै हुनुपर्ने प्रायजसो बाँझो हुने गरेका छन् ।

यसको अन्त्यका लागि तत्काल चौरजहारी नगरपालिकाले तीब्र गतिमा खानेपानी लगायतका अन्य योजनाहरु लक्ष्यअनुसार समयमै सम्पन्न गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्