कमोडिटी बजार सञ्चालनका लागि ५ कम्पनीको आवेदन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत् वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन गर्नका लागि ५ वटा कम्पनीको आवेदन परेको छ ।

नेपाल धितोपत्र बोर्डले कमोडिटी मार्केट सञ्चालनका लागि अनुमति लिन गत आर्थिक वर्षभित्र आवेदन माग गरेकामा नेपाल कमोडिटी एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, नेपाल मर्कान्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज र राइजल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडले अनुमतिका लागि बोर्डमा आवेदन दिएका हुन ।

पुँजी बजारमा वस्तु विनिमय बजारको प्रवेशपछि हाल कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिएर वस्तु बजार सञ्चालन गर्दै आएका कम्पनीहरुले उक्त कारोबार गर्न पाउने छैनन् ।

वस्तु विनिमय बजार सञ्चालन अनुमतिका लागि आवेदन परेका कम्पनीको कागजात अध्ययन गरी वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा अन्य प्रकृया पुगे नपुगेको विश्लेषणपछि मात्र अनुमतिपत्र दिइने धितोपत्र बोर्डले जनाएको छ ।

वस्तु विनियम बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपियाँ निर्धारण गरिएको छ भने त्यस्ता कम्पनीहरुले बजार सञ्चालन अनुमति पाएको ६ महिनाभित्र कारोबार सञ्चालन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग रहेको हालको मानव संशाधन, प्रविधि र भौतिक संरचना डेरिभेटिभ मार्केटका पर्याप्त भए पनि कमोडिटी मार्केटका लागि भने थप व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताइएको छ । कमोडिटी मार्केट पनि पुँजी बजारमा भित्रिएपछि त्यस्तो कारोबार गर्ने ब्रोकर कम्पनीहरुले डिलरको समेत काम गर्नुपर्ने देखिन्छ ।