अमेरिकाको ब्यवहार अफसोचजनक: उत्तर कोरिया


सोल (एजेन्सी)
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले अमेरिकामाथि परमाणु निसस्त्रीकरणका लागि एकतर्फी माग गरिरहेको र यसका लागि उमाथि दबाव बनाएको आरोप लगाएको छ ।
उत्तर कोरियाली सरकारका एक प्रवक्तालाई उदृत गर्दै न्युज एजेन्सी केसीएनएले ‘अमेरिकी ब्यवहार अफसोचजनक ‘ भएको जनाएको छ ।

उत्तर कोरियाली सरकारका एक प्रवक्तालाई उदृत गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पियो परमाणु निसस्त्रीकरणका लागि राखेको माग एकतर्फी भएको केसीएनएले जनाएको छ ।

सिंगापुरमा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवाताको मुलभावना विपरित अमेरिका गइरहेको र परमाणु कार्यक्रम छोड्न अमेरिकाले एकतर्फी दबाव दिइरहेको समाचार एजेन्सीले जनाएको छ ।

यसअघि उत्तर कोरियाको भ्रमण सम्पन्न गरि फर्केका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाली नेताहरुसँगको उनको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । दुई देशबीच परमाणु निसस्त्रीकरण सहित विकाससँग सम्बन्धित सबै मुद्दामा वार्ता भएको उनले बताएका थिए ।


माइक पोम्पियो शुक्रबार दुई दिवसिय यात्राका लागि उत्तर कोरिया पुगेका थिए ।
माइक पोम्पियोले उत्तर कोरियाली नेता किमका नजिक मानिएका अधिकारी किम योङ चोलसँगको भेटवार्तापछि उक्त टिप्पणी गरेका थिए ।

पोम्पियोको भेटवार्ताको प्रमुख उद्देश्य उत्तर कोरियासँग परमाणु निसस्त्रीकरणको मुद्दालाई अगाडी बढाउनु हो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक भेटवार्तापछि पोम्पिेयोको यो पहिलो उत्तर कोरियाली यात्रा थियो ।

ट्रम्पसँगको वार्तापछि किमले परमाणु निसस्त्रीकरण तर्फ बढ्ने प्रतिवद्धता ब्यक्त गरेको थियो । तर यो कसरी गर्ने भन्ने विषयमा विस्तृत जानकारी भने दिइएको थिएन ।

भेटवार्तापछि पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएका थिए । अमेरिकी गुप्तचर अधिकारीले उत्तर कोरिया अझैपनि आफनो परमाणु कार्यक्रम सन्चालन गरिरहेको प्रमाण प्राप्त भएको दावी गरेका थिए ।