सुनसरीको कोशी कटान क्षेत्रमा दुर्घटना, ६ जनाको मृत्यु



सुनसरी, (नेस)
सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ मा पर्ने कोशी कटान क्षेत्रमा सोमबार राति भारतीय नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी.आर ६ पी.बी ६४१८ नम्बरको बोलेरो अनियन्त्रित भई कटानक्षेत्रमा पल्टिदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको गम्भीर अवस्थामा विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक मध्ये भारत सुपौल जिल्लाका ४० बर्षीय संजित कुमार र गोनु कुमारको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमरियाले जानकारी दिनुभयो ।

मृतकका आफन्तहरु सम्पर्कमा नआएका कारण सनाखत हुन ढिलाइ भईरहेको डिएसपी चिमरियाले बताउनुभयो । उनीहरु हिजो धरान भेडेटार लगायतका क्षेत्रमा घुमफिर गरेर फर्कने क्रममा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको प्रकृति हेर्दा मादक पदार्थ सेवन र तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्