नेसनल हेल्थ फाउन्डेसन विद्यार्थी ठगी प्रकरण: ज्ञवाली पुर्पक्षमा, पाँचलाई पक्राउ आदेश 



मोतीराम तिमल्सिना, काभ्रे
८० जना विद्यार्थीहरुलाई नक्कली कलेज खोलेर ठगी गर्ने नेशनल हेल्थ फाउण्डेशन बनेपाका प्रशासन प्रमुख सुरज ज्ञवालीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

नुवाकोट टेक्निकल इन्ष्टिच्युटका नाममा सिमए र अनमीमा भर्ना गरिएका ८० विद्यार्थीहरु ठगी गरिएको थियो । ति मध्ये ६३ जनाले रकम फिर्ता पाएका छैनन भने उनिहरुको भविश्य समेत अन्योलमा परेको छ । ठगिएका मध्ये केहिले विभिन्न कलेजबाट अध्ययन गरी परीक्षा दिने अवसर प्राप्त गरेका छन् ।

६३ जनाको उजुरीका आधारमा प्रहरीले प्रशासन प्रमुख ज्ञवालीलाई पक्राउ गरेको थियो । सस्थाका संचालक तथा संस्थापक प्रिन्सिपल शिलाकान्त झा, संचालक अध्यक्ष कृष्ण बढुवाल, संचालकहरु मोहनराज भट्ट, भानुदेव जैसी,, शोभितजंग रायमाझी फरार छन् । अदालतले फरारहरुको हकमा म्याद जारी गरेको छ । जिल्ला न्यायाधीश दिपककुमार खरेलको बेञ्चले ज्ञवालीलाई पुर्पक्ष र अन्यलाई म्याद जारी गर्ने आदेश गरेको हो ।

कलेजका सञ्चालकहरुको स्थायी ठेगाना कैलाली हो । इलाका प्रहरी कार्यालय बनेपाले ९३ लाख ९० हजारको विगो सहित ठगी मुद्दा दर्ता गरेको थियो । २०७५ साल असार ६ गते प्रशासन प्रमुख ज्ञवालीले ठगिएका ६८ विद्यार्थी मध्ये ५ जनाको रकम फिर्ता गरेका थिए ।

अन्यले अझै रकम प्राप्त गरेका छैनन । ज्ञवाली र झा नातामा ज्वाई जेठान हुन् । यस अघि पनि कलेज बाटै विद्यार्थी ठगि गरेको अभियोगमा उनिहरुलाई कारवाही भए पनि शक्तिका आडमा थुनामा गएका थिएनन् ।

८ महिना अघि उजुरी परे पनि जिल्ला प्रशासन कार्यालय मौन रहँदा प्रिन्सिपल र संचालक फरार हुँदै आएका थिए । सिटिईभिटीले छानविन गरी कलेज खारेज गर्ने निर्णय गर्दा समेत प्रशासन मौन थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत आए लगत्तै यस्ता मुद्दाहरुमा प्रशासन सक्रिय भएको हो ।

विद्यालयका मुख्य संचालक शिलाकान्त झा अझै फरार छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ठगीको उजुरी परेको ८ महिना पछि प्रशासनको सक्रियतामा ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहले उनलाई पक्राउ गरेका थिए । झा र ज्ञवालीले बार्षिक १ लाख २० हजारका दरले ९६ लाख रुपैया संकलन गरेर नक्कली कलेज संचालन गरी परिक्षा समेत दिने तयारी गरेका थिए ।

समाचार प्रकाशनपछि सिटिईभिटीले छानविन टोली गठन गरेको थियो । ‘अध्ययनका लागि दिएको डेड लाख रकम त खाए खाए, हाम्रो वर्ष दिनको समय र भविश्य समेत अन्धकार बनाए’– एक विद्यार्थीले भने–‘बनेपामा रहेको नेशनल हेल्थ फाउण्डेशनको नाममा विद्यार्थी भर्ना गराएर संचालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटको नाममा झुक्याएर फाराम भरेका रहेछन् ।’

सिटिईभिटीमा दर्ता नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटकै नाममा ज्ञवालीले विद्यार्थीको नक्कली हस्ताक्षर गराएका थिए । सिटिईभिटीका कर्मचारीको मिलेमत्तोमा नुवाकोट टेक्निकल इन्ष्टिच्युटको प्रवेश पत्र वितरण गरेका थिए । चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना लिन नपाउने गरी सिटिईभिटीले नेशनल हेल्थ फाउण्डेशन खारेजी गरेको सुचना प्रकाशन गरिसकेको छ ।

नेशनल हेल्थ फाउण्डेशनका नाममा विद्यार्थीलाई ठगि गरिएको छ भने सोहि कलेजका संचालक शिलाकान्त झाले फर्जि हस्ताक्षर गरेर जिल्ला प्रशासनमा संस्था नविकरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्