मकवानपुर पूर्णखोप सुनिश्चित



हेटौंडा, (नेस)
मकवानपुर जिल्ला पूर्णखोप सुनिश्चित घोषणा भएको छ । हेटौंडामा मंगलबार आयोजित विशेषसभामा यस्तो घोषणा गरिएको हो ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणा गर्नुभएको हो । जिल्ला खोप समन्वय समिति मकवानपुरले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेको छ । मकवानपुरमा १६–२३ महिनासम्मका बालबालिकाले पूर्णरुपमा खोप लगाएको सुनिश्चिततापश्चात् जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

मकवानपुरमा १६–२३ महिनाका ७ हजार १ सय ८३ बालबालिकाले पूर्णखोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पूर्णखोप घोषणाका विभिन्न ११ चरण पूरा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख रामचन्द्र पाठकले बताउनुभयो ।

कार्यक्रममा सहभागीले खोपको चर्चा गर्दै राज्यले दिएको सुविधा उपभोग गरी स्वस्थ्य नागरिक बन्न आग्रह गरे । बालबालिकालाई खोपको पहुँचमा पु¥याएर खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ ।

सन् २०१७ सम्ममा देशलाई पूर्णखोप राष्ट्र बनाउने लक्ष्य लिइए पनि निर्वाचन र आचारसंंहिताका कारण लक्ष्य प्राप्ति भएन ।

थाहानगरबाट सुरु भएको पूर्णखोप घोषणा हेटौंडा उपमहानगरले घोषणा गरेसँगै सबै स्थानीय तहमा घोषणा सकिएको छ । जिल्लामा खोपको पहुँचबाट वञ्चित बालबालिका छैनन् । अब खोपकै कारण रोगबाट संक्रमित भई बालबालिका मर्ने अवस्था अन्त्य भएको स्वास्थ्यकर्मीको दाबी छ ।

१ वर्षभित्र बालबालिकालाई बीसीजी, डीपीटी, टीटी, पोलियो, रुबेला र दादुरालगायत १० प्रकारका खोप लगाउन सफल भएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार १५ महिना उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्थामा पूर्णखोप घोषणा गर्न सकिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्