कारको सिटमुनिबाट १३ लाख भारु बरामद



सीताराम चौधरी, कपिलवस्तु ।
कारको सिटमुनी लुकाएर अबैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको १३ लाख १३ हजार ६६० भारतीय रुपैयाँ नेपाल प्रहरीले कपिलवस्तुको कृष्णनगर २, लिंकगेटबाट बरामद गरेको छ । साथै प्रहरीले कार र दुई जना मानिसलाई समेत नियन्त्रणमा लिएको छ ।

भारतको हरियाणाबाट नेपालको काठमाडौंतर्फ जान लागेको एच.आर ०८ एक्स ६०८८ नम्बरको ट्वेटा कारलाई चेकजाँचका क्रममा सो रकम फेला परेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बोगटी र लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाई नेतृत्वको संयुक्त टोलीले शंका लागेर कारमा चेकजाँच गर्दा ठूलो परिमाणको भारतीय नोट भेटिएको प्रहरीले जनाएको छ ।

लिंकगेटमा रोकिएको कारमा चेकजाँच गर्न लाग्दा चालक भारतको पञ्जाब बस्ने लावसिंह हेण्डिल लक गरी फरार भएपछि प्रहरीलाई शंका लागी कारभित्र खानतलास गर्दा सिटमुनि लुकाएको अवस्थामा भारतीय नोट फेला पारेको लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाईले जानकारी दिनुभयो । भारतबाट बढीमा २५ हजार भारतीय नोट मात्र नेपाल ल्याउन पाइने कानुनी प्रावधान भएपनि ठूलो परिमाणमा भारतीय नोट नेपाल भित्राएकाले नोट बरामद गरिएको प्रहरी निरीक्षक सूर्य बोगटीले बताउनुभयो ।

सिटमुनी रकमका बिटो चाङ लगाएर राखेको देखेपछि कारमा सवार दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जनाउनुभयो । चाबी लिएर चालक नै फरार भएपछि कारलाई जेसिबीले तानेर प्रहरी परिसरसम्म ल्याएको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवसहितको रोहबरमा कारबाट रकम झिकी गणना गरिएको थियो । प्रहरीका अनुसार कारको सिटमुनीबाट १२ लाख ४० हजार १२० रुपैयाँ र दुई जनाबाट ७३ हजार ५सय भारतीय नोट बरामद गरिएको थियो ।

“चेकजाँचका क्रममा दुई हजारका १८ वटा नोट, ५सयका २४ गड्डी र ७५ वटा नोट, २सयको १ गड्डी, एक सयको २ गड्डी, ५० को २ वटा र रु १० को ६ वटा नोट भेटियो” – प्रहरी निरीक्षक बोगटीले भन्नुभयो । नोट ओसारपसारमा संलग्न दुई जना र कारलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बोगटीको भनाई छ । कारमा सवार भारतको कैदेल हरियाणा घर बताउने ४२ वर्षे राजेन्द्र जाड र नेपालको कञ्चनपुर गैरीगंगा नगरपालिका ६, बनभेडा घर भई भारतको हरियाणास्थित होटल संचालन गर्ने ४६ वर्षे महेन्द्र ओझालाई विशेष अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो । हालै मात्र प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका बोगटीले सीमाक्षेत्रमा हुने गरेका विभिन्न अपराधिक घटना, चोरी निकासीलाई नियन्त्रण गर्न विशेष चेकजाँचलाई अगाडि बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्