व्यक्तिवृत्त: होनहार कवि/गायिका हरिदेवी कोइराला

188
Shares

-मोहन दुवाल
कवयित्री तथा लोकगीत गायिकाका रूपमा ख्यातिप्राप्त हरिदेवी कोइराला गण्डकीमा मात्र नभई समग्र नेपालभरिकै लोकप्रिय गायिका हुन् ।

यिनका गीतहरू कर्णप्रिय छन् । कविताहरू मानवीय संवेदनाले व्याप्त छन् । सयौं क्यासेट चक्कामा गीत सम्प्रेषण गराइसकेकी यिनका प्रकाशित काव्य÷गीतका पुस्तकहरुमा कवितातर्फ मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ (२०४५), तरङ्ग (२०५४), न घाम झ¥यो न जून झ¥यो (२०५९), सारङ्गीमा भुल्यो मन (२०६७), के छ हजुर हालचाल यता ? (२०६७), कसका जन्ती आए ? (२०७०) छन् ।

यसै गरी लोकगीततर्फका पुस्तकहरुमा आफ्नै गीत आफ्नै भाका (२०६२), माइतै रमाइलो (२०६३) प्रकाशित छन् । १०० भन्दा बढी म्युजिक भिडियोमा पनि आफूलाई देखाइसकेकी यिनी पोखराबाट उदय भएकी लोकगायन क्षेत्रकी देशले नै स्मरण गर्नलायककी लोकगायिका हुन् । दुई छोरा र एक छोरीकी आमा बनेर, रामबहादुर कोइरालाका मन पर्ने जीवनसंगिनी बनेर जीवन–पथमा रमाउँदै हिँडेकी हरिदेवी कोइरालाले साहित्य र लोकगीतमा प्रवेश गर्ने प्रेरणा प्राकृतिक वातावरण र सामाजिक परिवेशबाट प्राप्त गरेकी हुन् ।

वि.सं. २०१५ चैत्र १७ गते पोखरा उपमहानगरपालिका–६, वैदाम, कास्कीमा पिता स्व. योगेन्द्रबहादुर भट्टराई र माता जगतकुमारी भट्टराईकी छोरी भएर जन्मेकी हरिदेवी वि.संं. २०२८ देखि साहित्य र लोकगीतमा प्रवेश गरेकी हुन् । वि.सं. २०४० देखि गीत रेकर्डमा लागेकी हरिदेवीको रेकर्ड भएको पहिलो गीत हो–

आँखाभरि आँसुको धारा
यो जीवनमा छैन केही सहारा
घर त वैदाम ताल
रोएरै बित्ने भो यो दुःखीको चाल ।

पहिलो क्यासेट पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुरबाट प्रचारमा आएकी लोकगायिका हरिदेवीका ५ सयभन्दा बढी गीत रेडियोमा रेकर्ड भइसकेका छन् । नारायण गोपाल, तारादेवी, अरुणा लामा, रामकृष्ण ढकाल, स्व. लोकबहादुर क्षेत्री, धर्मराज थापा, झलकमान गन्धर्व आदि गायक–गायिकाहरूका मर्मस्पर्शी गीतहरूबाट प्रभावित यिनी साहित्यकारहरूमा लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचन, माधवप्रसाद घिमिरे मन पराउँछिन् ।

मुनामदन र घुम्ने मेचमाथि अन्धो मान्छे यिनका सबभन्दा मन पर्ने कृति हुन् भने जन्मस्थान पोखरा र फेवातालको सेरोफेरो यिनलाई अत्यन्त मन पर्ने ठाउँ हो । साहित्य, लोकसंस्कृतिप्रति समर्पित रहने यिनको रुचिअनुसार यिनी यस्तै भावभूमिमा रङ्ग–रङ्ग फिँजाएर इन्द्रेणी बन्नका लागि तल्लीन र सक्रिय छिन् ।

यिनको दृष्टिमा साहित्यको परिभाषा मानवीय भावनाको कलात्मक अभिव्यक्ति, अनुभूतिको सुन्दर र शिष्ट प्रस्तुति बनेका छन् । यिनको चेतनामा जीवन दुःख र सुखको संगम हो । आँसु र हाँसोको दोभान, सङ्घर्षको पर्यायवाची नाम हो– जीवन ।

लोकगायन, साहित्यसेवा र सिर्जनामा यिनी निकै सक्रिय देखिन्छन् । दर्जनौं साहित्यिक तथा सामाजिक संस्थाका उपाध्यक्ष, सदस्य तथा केन्द्रीय सदस्यजस्ता पदहरूको जिम्मेवारी बहन गर्दै गरेकी यिनी जनमत प्रकाशनका तर्फबाट वि.संं. २०६० चैत्रमा केवलपुरे–जनमत सम्मानबाट सम्मानित भइसकेकी लोकगायिका हुन् ।

लोकगीतका चर्चित गायिका हरिदेवी कोइरालाका कविताहरू राष्ट्रवादी चेतले ओतप्रोत हुँदै क्रान्तिकारी भावधारामा प्रवाहित छन् । नारीजगत्का स्पन्दन र आँसुका मर्महरू कवितामा पोख्न सक्षम कवि हरिदेवी कवितामा नारीलाई यसरी पोख्छिन्–

हो, हामी भात पकाउने मान्छे पनि हो
छाती भरी भरी माया र दयाको सागर लुकाएर
पुरुषको एक्लो जिन्दगीलाई आफ्नो जिन्दगी नै दिएर
समर्पित हुने मान्छे पनि हो ।

सुरिलो कण्ठकी लोकगायिका तथा कवयित्री हरिदेवी कोइरालाले आफ्नै नाममा पोखरामा हरिदेवी साहित्य सङ्गीत सम्मान कोषको स्थापना गरेर देशका लोकगायक, साहित्यकारहरुको दुःखमा केही न केही सहयोग पु¥याउँदै आएकी छन् ।

यिनी लेखनाथ साहित्य प्रतिष्ठान, अलि मिया लोक वाङ्मय प्रतिष्ठान, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, सङ्गीत प्रशिक्षण केन्द्र, संरक्षण कविता आन्दोलन, राष्ट्रिय बालप्रतिभा पुरस्कार समिति, हेमराज साहित्य प्रतिष्ठान, भानुभक्त प्रतिष्ठान, गण्डकी साहित्य संगम आदिमा संरक्षक, अध्यक्ष, उपाध्यक्ष, सल्लाहकार र सदस्य रहेर आफ्नो सक्रियता पनि देखाउँदै आएकी गायिका तथा लेखिका हुन् ।

पोखराको सुन्दर प्राकृतिक भूमिमा अलि मियापछि लोकगायनमा, लोकगीत सङ्कलनमा, साहित्यिक सिर्जना र संगठनमा हरिदेवी कोइरालाको नाम उच्चारण गर्न सकिन्छ । यिनको सक्रियता, सिर्जना र लोकगीत गायनमा यिनले पु¥याएको योगदानको कदरस्वरुप प्रशंसापत्र, अभिनन्दनपत्र, प्रमाणपत्र, कदरपत्र, पुरस्कार गरी करिब २ सय सङ्घ–संस्थाबाट यिनी सम्मानित भइसकेकी छन् ।

सुरिलो स्वरकी धनी व्यक्तित्व हरिदेवी कविता सिर्जनामा पनि आफ्नो देश र जनमनप्रति बफादार छिन् । कविता र गीतमा समाजप्रतिको दायित्वबोधले यिनलाई घचघच्याइदिएका छन् । यिनी कवितामा मानवीय मुक्ति खोज्छिन् र उज्यालोको खोजीमा स्वर दिन जहिले पनि तत्पर हुँदै आएकी देखिन्छिन् । देश राजनीतिक द्वन्द्वमा रहँदा, शान्ति हराएको स्थितिमा ‘शङ्का’ गर्दै कवितामा लेख्छिन्–

गाइने दाइको सारङ्गीमा उन्मुक्तिको गीत छैन
कान्छा–कान्छी देउरालीमा फूल साट्ने प्रीत छैन ।
हृदयमा लालीगुराँस सयपत्री सुनाखरी–
फुल्नै नपाई कोपिलैमा झर्ला भन्ने पीर फेरि ।

उज्यालोको खोजीमा लागेर गीत र कवितामार्फत सन्देश दिँदै आएकी यिनी जीवन भनेको नै अर्काको सेवामा समर्पित गर्नुलाई सम्झिन्छन् र सुगम साङ्गीतिक तथा साहित्यिक यात्रामा लागेर सिर्जना र साधनामा मन दिन पाउँदा दङ्ग पर्छिन् । न्यानो घामको र उज्यालो देखिने घामकै प्रतीक्षामा रहेकी यिनी कवितामा बोल्छिन्–

ल्याइदेउन उज्यालो धर्तीमा गगनको त्यो न्यानो घामले
पीडाले पोलेको बस्तीमा शीतल पोखिदेऊ जूनले ।
सुनाइदेऊ सन्देश सबैलाई सरर हिमाली हावाले–
खडेरी परेको मनलाई भिजाइदेऊ मेची र कालीले ।

निरन्तर लोकगीत खोजिरहेकै र गाइरहेकै कारणले यिनी प्रसिद्ध लोकगायिका बन्न सफल रहिन् । निरन्तर कविता पनि लेखिरहिन र प्रसारित हुँदै आएकी कारणले यिनी कविकै विम्बमा पनि देखा परिरहिन् ।

देशप्रतिको चोखो भावना र जनताप्रतिको उत्तरदायित्व बोक्दै हरिदेवीले आफ्नो गायन र सिर्जनामार्फत जे–जति सक्रियता देखाइरहिन् त्यही नै यिनको उत्कृष्ट ढङ्गको परिचय बन्न गएको देखिन्छ । हरिदेवी मलाई लाग्छ– लोकगीतको एउटा युग हो ।

मलाई भन्न मन लाग्छ– हरिदेवी कोइराला पोखराकै धरातलबाट उठ्दै आएकी राष्ट्रकी होनहार लोकगायिका हुन् । थाक्न जानिनन्, त्यसैले हरिदेवी बनिन् राष्ट्रिय प्रतिभा ।