तनहुँ जलविद्युत् आयोजनाको पीपीए सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) मा हस्ताक्षर भएको छ ।

प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रवन्ध–सञ्चालक प्रदीप कुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
प्राधिकरण र कम्पनीबीच सम्पन्न विद्युत खरिद–बिक्री सम्झौताको मुख्य प्रावधानमा सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन शुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८० चैत ३० गते तोकिएको छ ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर) मा प्रतियुनिट क्रमशः १२.४० र ६.०८ रुपैयाँमा खरिद गर्नेछ । उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्थाअनुसार मूल्यवृद्धिपश्चात (९७औं महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुने छ । साथै व्यापारिक उत्पादन शुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा ऊर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको शुख्खा र वर्षायामको क्रमश ः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ ।

कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको ऊर्र्जाको ३५ प्रतिशतभन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था छ । प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि सुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमशः १०.५५ र ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ ।

प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको ऊर्जा खरिद गर्नुपर्नेछ । साथै अतिरिक्त ऊर्जाको हकमा प्राधिकरणले जारी गरी माथि तोकिएको खरिद दरको ५० प्रतिशत दरमा खरिद गर्ने छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित हुने छ ।

आयोजनाको पूूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य संरचनाको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।