४९ विद्यार्थीलाई करिब २ करोडको छात्रवृत्ति



नेपाल समाचारपत्र, चितवन
कम्प्युटर एशोसिएशन महासंघ (क्यान) ले सूचना प्रविधिको बिषयमा यसबर्षदेखि छात्रवृत्ति कार्यक्रमको सुरूवात गरेको छ । सूचना प्रविधिको विषयमा अध्ययन अध्यापन गराउँदै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन कलेजसँगको सहकार्यमा क्यान महासंघले गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति कार्यक्रम सुरू गरेको हो ।

काठमाडौँको मैतीदवीमा रहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनसँगको सहकार्यमा देशभरका गरिब तथा जेहेनदार४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको बुधवार नारायणगढमा पत्रकार सम्मेलन मार्फत क्यान महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष विनोद पौडेलले जानकारी दिए । देशका सातै प्रदेशबाट समान सहभागीता गराएर एक जनालाई पूर्ण छात्रावृत्ति र ६ जनालाई आंशिक छात्रावृत्ति प्रदान गर्न लागिएको उनले जानकारी दिए ।

‘क्यान नेशनल आइसीटी स्कलरसीप–२०७५’ नामबाट सञ्चालन गर्न लागिएको छात्रावृत्तिबाट सबै विद्यार्थीले गरी एक करोड ८३ लाख ३६ हजार पाँचसय रूपैयाँ बराबरको छात्रावृत्ति पाउनेछन् । छात्रावृत्ति लागि अनलाइनमार्फत फारम भर्न सकिने उनले बताए । अनलाइनमार्फत सम्भव नभएकाहरूले क्यानको जिल्ला शाखा मार्फत फारम भर्न सकिने क्यान महासंघले जनाएको छ ।

छात्रबृत्तिका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट ५० प्रतिशत अंक सहित प्लसटु अर्थात सो सरह अध्ययन गरेका विद्यार्थीहरु तथा कक्षा १० को गणित बिषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका र सिटिइभिटीबाट कम्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

क्यान महासंघले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि काम गर्न खोजेकोले सहकार्य गर्न तयार भएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले जनाएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेशनका अध्यक्ष पंकज जलानले सूचना प्रविधिको क्षेत्रमा अध्ययन गर्ने चाहाने ग्रामिण क्षेत्रका विद्यार्थीहरूको मध्यनजर गर्दै अन्य आवश्यक सहयोग गर्न फाउण्डेशन तयार रहेको प्रतिवद्धता जनाए ।

गरिब तथा विपन्न विद्यार्थीहरूको लागि राम्रो अवसर भएकोले चितवनबाट पनि समयमै फारम भरेर आफ्नो सिट सुरक्षित गर्न क्यान महासंघ चितवनका अध्यक्ष भानु शर्माले अनुरोध गरे । उनले क्यान चितवनले पनि अन्य शैक्षिक संस्थासंग समन्वय गरेर छात्रवृत्तिका योजना संचालन गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्