उजुरी गर्न प्रजिअको आग्रह



लमजुङ, (नेस)
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले समान रूपमा अधिकार प्राप्त गर्नु नै मानव अधिकारको विशेषता भएको बताउनु भएको छ । उहाँले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङको आयोजनामा बेसीशहरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि अर्धवार्षिक पूर्व समिक्षा गोष्ठीमा त्यस्तो बताउनु भएको हो ।

मानव अधिकार उल्लंघनका घटना भएमा उजुरी गर्न समेत सबैलाई आग्रह गर्नु भयो । उहाँले महिलालगायत हरेक नागरिकमाथि हुने भेदभाव दण्डनीय मात्रै नभएर निषेध गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ संविधानले नागरिकका हरेक अधिकारलाई आत्मसात गरी प्रत्याभुत गरेको छ भन्दै उहाँले मानव अधिकार संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकारको प्रत्याभुति महसुस हुनका लागि कुनै पनि घटनाका पीडितलाई पद र प्रतिष्ठा हेरेर भन्दा पनि उसको आवश्यकता हेरेर सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधी दलबहादुर मजाकोटीले लमजुङमा घटेका पछिल्ला ६ महिनाका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मजाकोटीले जिल्लाका पछिल्लो ६ महिनामा अभिलेख गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना समेटिएको स्थिति सूचक सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक यादव ढकाल, राष्ट्रिय अनुसन्धान प्रमुख सरोज निरौला, सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापा, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्