पेट्रोलियम पाइनलाइनको ईआईए बाँकी

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज
भारतको मोतिहारीदेखि बाराको अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलोमिटर खण्डमा पाइप गाड्ने कार्य सकिएको छ ।
१५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर पाइप जडान गरेको हो ।

परियोजना व्यवस्थापक एवं आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले १३ किलोमिटर पाइप गाडिसकिएको र अब २ किलोमिटर अन्तिम चरणमा पुगेको बताउन्भयो । वर्षातको समय भएका कारण काम गर्न अहिले केही कठिनाइ भए पनि ईआईए अध्ययन प्रतिवेदनको फाइल वन मन्त्रालयमा अड्केको र त्यो पास भयो भने पथलैयादेखि अमलेखगन्ज ८ किलोमिटर जंगल क्षेत्रमा काम गर्न सकिने उहा“को भनाइ छ।

परियोजनाअन्तर्गत रक्सौल बोर्डरदेखि अमलेखगन्जसम्म ३६ दशमलव २ किलोमिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३ दशमलव ७ किलोमिटर पाइप बिछ्याउनुपर्ने हुन्छ । पाइप बिच्छ्याउन प्रतिकिलोमिटर ५ करोड भारतीय रुपियाँ लाग्ने अनुमानका आधारमा ७० किलोमिटरको लागत ३ सय ५० करोड भारु पर्ने अनुमान छ ।

अमलेखगन्जमा ४ वटा ट्यांकी निर्माण गर्ने र नदीमा बोरिङ गरेर पाइप गाड्नु पर्ने हु“दा लागत अझै बढी हुने अनुमान छ ।परियोजनाका इन्जिनियर शरद पौडेलले अवरोध नभएको ठाउ“मा पाइप गाड्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले वर्षायाममा दक्षिणी क्षेत्रमा काम गर्न केही समस्या आउने देखिए पनि वन मन्त्रालयले अनुमति दिएको खण्डमा वन क्षेत्रमा काम शुरु गर्न सकिने जानकारी दिनुभयो ।

सबैभन्दा गाह्रो वनको क्षेत्रमा र त्यसपछि शंकराचार्य गेटदेखि रजत जयन्ती चोकसम्म १ किलोमिटर, परवानीपुर र जीतपुर बजारमा समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । दु्रत गतिमा काम भए पनि विभिन्न समस्याका कारण काममा ढिलाइ भइरहेको पाइपलाइन बिच्छ्याउने काम गरिरहेको भारतीय कम्पनीले गरेको छ ।

भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालिका इन्जिनियर जाफर इमामले विभिन्न ठाउ“मा अवरोध देखिएका कारण काम सोचेजसरी अघि बढ्न नसकेको बताउनुभयो । भारत विहार राज्यको बरौनी रिफाइनरीबाट पटना मुगलसराय हुँदै कानपुरसम्म पहिले नै पाइपलाइन तयार थियो । पाइपलाइन परियोजना सम्पन्न भएपछि पाइपमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको ढुवानी गर्न सकिनेछ । नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगन्ज रक्सौल नाका हु“दै ट्यांकरमा भित्राउने गर्छ ।