नक्सा पास गर्न अनिवार्य रुपमा शौचालय बनाउनुपर्ने



उर्लाबारी

मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ ।

नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिष्दबाटै पास गरेको छ ।

घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो ।

बेलबारी नगरपालिकालाई गत आइतबार खुल्ला दिशामुक्त नगरपालिका घोषित गरिएको थियो । १२ हजार ८९२ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त नगर घोषणा गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

निर्माणाधीन घर तथा भविश्यमा निर्माण हुने घरमा शौचालय निर्माण भएको नपाइए नगरले दिने सेवासुविधासमेत रोक्ने नगरपालिकाले जनाएको छ ।

शौचालय निर्माणसँगै हरित नगरी बनाउने उद्देश्यकासाथ नगरपालिकाभित्र कालोपत्रे गरिसकिएका सडकको किनारमा अनिवार्य रुपमा विरुवा रोप्नु पर्ने नगरपालिकाले जनाएको छ ।

यसैगरी नयाँ बनाएका घरमा समेत नगरपालिकाले दुईवटा विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नीति अख्तियार गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्