‘ऋतु फेरिँदै जान्छ’ को सन्दर्भमा कथाकार सरित्


पुस्तक टिप्पणी

-दीपक भुजेल
नेपाली साहित्यमा इन्द्रकुमार श्रेष्ठ सरित् परिचितमात्रै हैन स्थापित र चर्चित पनि छन् । साहित्यका विविध विधाहरु गीत, गजल, कविता, कथा, उपन्यास, संस्मरण लगायतमा कलम चलाउने साहित्यकार सरितको हालसालै रत्न पुस्तक भण्डारबाट कथासंग्रह “ऋतु फेरिँदै जान्छ“ प्रकाशनमा आएको छ ।

यसअघि नै पाँचवटा कथा संग्रह प्रकाशन गरिसकेका सरितको यस संग्रहमा पच्चीसवटा कथाहरु संग्रहित रहेका छन् । केही कथालाई छाडेर उनका अधिकांश कथाहरु साठी एकसठीपछि लेखिएका कथाहरु नै छन् ।

यस अघिका सरितका कथासङ्ग्रहहरुमा धेरैजसो उनका माया प्रेमका सामाजिक यथार्थवादी कथाहरु भेटिन्छन् भने तिनमा समाजको जीवन्त चित्रण पनि भेटिन्छ। तर “ऋतु फेरिँदै जान्छ“ कथासंग्रहमा पहिलेको तुलनामा सरितका बिल्कुलै फरक कथाहरु रहेको पाइन्छ । यिनमा संग्रहित धेरैजसो कथाहरुको पृष्ठभूमि जनआन्दोलन र जनयुद्ध रहेको छ । त्यसैले पनि यी कथाहरुले सरितको लेखनीमा आएको वैचारिक परिवर्तनलाई राम्रैसँग प्रतिनिधित्व गरेको छ । सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणका लागि साहित्यिक लेखनमार्फत् उद्घोष गर्ने उनको कलमले समाजवादी यथार्थवादको धरातलमा रहेर आफ्ना सिर्जना प्रस्तुत गरेका छन् ।

संग्रहकै शीर्षक रहेको कथा “ऋतु फेरिँदै जान्छ“ समाजमा ब्याप्त जातिपाति र छुवाछुतका घटनाहरुलाई प्रष्टपानेकक शोषक र शोषितहरुका बारेमा लेखिएको गएउटा ज्यूँदो कथा हो । छुवाछुतको उत्पीडन र परिवतककनको शंखनादरहेको यसखालका कथा नेपाली साहित्यमा निकै कम लेखिएका छन् । विषयवस्तु, प्रस्तुति, भाषा, शैली र प्रभावका दृष्टिले यो कथा संग्रहकै मास्टर पिस कथा होभन्दा पनि हुन्छ ।

विचारका दृष्टिले संग्रहमा रहेका उनका कथाहरुले प्रगतिवादी विचारको पृष्ठपोषण गर्दछन् । “हाँगाबाट खसेका पहेँला पातहरु“ शीर्षकको कथा आयतनको दृष्टिले अलि लामो भए तापनि विषयवस्तु र प्रस्तुतिका दृष्टिले यस्ता कथाहरु नेपाली साहित्यमा अत्यन्त न्यून लेखिएका छन् । पत्रकार नै मुख्य पात्र भएको यस कथाले राजधानी काठमाडौको मात्रै हैन नेपालकै पछिल्लो तस्विर प्रस्तुत गर्छ ।

त्यसैगरी घामभन्दा उज्यालो, धरातल, अँध्यारोमा उज्यालो खोज्दै, बन्द ढोका खोलेर, बुन्दै गरेको डोकोमा नबुनिएका सपनाजस्ता कथाहरुले जनयुद्धको कारण, त्यो बेलाको त्रासदी र त्यसले दिएका पीडा अनि चोटहरुलाई अत्यन्त मर्मशील ढंगले प्रकटीकरण गरेको छ । “बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु“ शीर्षकको कथाले जनयुद्धको सपना र गन्तव्य मात्रै हैन त्यसपछि जनयुद्धको घाइतेले भोग्नुपरेको पीडा र त्रासदीलाई पाठकको मुटु भक्कानिनेगरी प्रस्तुत गरेको छ ।

प्रगतिवादी विचारलाई कथाकार इन्द्रकुमार श्रेष्ठ सरितका कथाहरुले ‘ऋतु फेरिँदै जान्छ’ कथासंग्रहका कथाहरु मार्फत् सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरढको स्वरलाई दह्रोगरी उठाएको छ, शंखनाद गरेको छ । विरोध र विद्रोहको चरण पार गरेर नै न्याय र समानता प्राप्त हुन्छ भन्ने कुरामा कथाहरु अघि बढेको देखिन्छ ।

कथा लेखनीमा मनोहारि भाषा र आकर्षक शैलीका लागि परिचित इन्द्रकुमार श्रेष्ठ सरितको ‘ऋतु फेरिँदै जान्छ’ मा संग्रहित कथाहरुले पनि उक्त विश्वासलाई कायम राख्न सफल देखिन्छ । “ऋतु फेरिँदै जान्छ“ भित्रका सबै कथाहरु कथानक स्वादले भरिएका छन् र पठनीय छन् ।