भक्तपुरमा विशेष सरसफाइ अभियान जारी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको शनिबार १५औं हप्तामा १६ टन फोहोर संकलन गरिएको छ। मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको सीमानामा रहेको थिमी–दधिकोट पुल क्षेत्रमा सरसफाइ गरिएको थियो। जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले १९औं राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवस १५औं हप्ताको हनुमन्ते सरसफाइ अभियान डिवाससीसीको सम्पूर्ण पदाधिकारीको उपस्थितिमा भव्यरुपमा सरसफाइ गरी मनाउने निर्णय गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहोर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै उहाँले अभियन्ताले सफा गरिरहने माथिकाले फोहोर फालिरहने प्रवृत्तिको अब स्थानीयवासीले नै अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

हनुमन्ते सफाइ अभियानमा कलाकार मनोज गजुरेलले शुरूकै दिनदेखि हनुमन्ते सफाइमा आफ्नो सक्रिय सहभागिता रहेको बताउँदै भक्तपुरका ४ वटै नगरपालिकाको सक्रिय सहभागिता र प्रतिबद्धताले मात्रै नदीलाई पूर्णरुपमा सफाइ गर्न सकिने बताउनुभयो। अभियानलाई सार्थकता दिन सबै क्षेत्रमा व्यक्ति लाग्नुपर्ने र स्थानीयवासीको अभियानमा सक्रिय सहभागिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरू भएको अभियानमा जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो। विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरू भएको अभियानमा आजसम्म २ सय १६ टन फाहोर संकलन भएको र अभियानमा ५ सय ७० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो।

समितिले १९औं राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवस मंगलबारदेखि १ सातासम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन शुरू गरेको हो। समितिको गत सोमबार बसेको बैठकले विश्व वातावरण दिवसको अवसरमा एक राष्ट्र सेवक एक फलफूलको बिरुवा रोप्ने, खुला दिसामुक्तपश्चात्को पूर्ण सरसफाइ कार्यक्रमको अनुगमन गर्ने, जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिकीकरण गर्ने र झाडापखाला तथा पानीजन्य रोगको पूर्वतयारी कार्यक्रम सम्बन्धमा विशेष निर्णय गरेको थियो।

समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा विभिन्न संघसंस्थाको सहयोगमा सरसफाइ अभियान तीव्र पारिएको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विश्व वातावरण दिवसको अवसरमा मंगलबार जिल्लास्थित सम्पूर्ण कार्यालयमा कार्यरत एक राष्ट्र सेवक एक फलफूलको बिरुवा कार्यालय परिसरमा रोपेको र बिरुवाको रेखदेख र संरक्षण स्वयं कर्मचारी आफंैले गर्ने निर्णय गरिएको बताउनुभयो।

दिवसका अवसरमा जिल्लास्थित सम्पूर्ण कार्यालयमा वृक्षारोपण गरिएको छ। जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको फलफूल र अन्य बिरुवा सरकारी कार्यालयमा प्रत्येक कर्मचारीले रोपेको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो।

समितिले जिल्लामा सञ्चालित खुला दिसामुक्तपश्चात्को पूर्ण सरसफाइ कार्यक्रमको अनुगमन राष्ट्रिय सरसफाइ सप्ताहभित्रै अनुगमन समिति बनाई अनुगमन गरिने निर्णय गरेको छ। जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना समितिको बैठक शीघ्र बसी सार्वजनिकीकरण गर्नेसमेत निर्णय गरेको समितिका सदस्य तथा यू एन ह्याबिट्याटका भक्तपुर संयोजक पार्वती दंगालले जानकारी दिनुभयो।

युवा क्रियाकलाप समाजका संस्थापक अध्यक्ष पहलमान श्रेष्ठले वर्षात्को मौसम शुरू भएसँगै हुन सक्ने सम्भाव्य झाडापखाला तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी कार्यक्रम युनिसेफको सहयोगमा सञ्चालन गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो।