किमले घुँडा टेकेर वार्ताका लागि अनुनय विनय गरे : गुलियानी

0
Shares

न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी गुलियानीले उत्तर कोरियाली किम जोङ उन आसन्न प्रस्तावित वार्ताका लागि गिडगिडाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको प्रस्तावित भेटवार्ता रद्द गरेपछि किमले त्यसलाई पुनः गराउनका लागि अनुनय विनय गरेको बताएका थिए।

इजरायलमा एक सम्मेलनमा गुलियानीले ट्रम्पको कडा नीतिका कारण उत्तर कोरिया आफ्नो नीति परिवर्तन गर्न बाध्य भएको बताए।

ट्रम्पले मेमा उत्तर कोरियामाथि ‘शत्रुतापूर्ण व्यवहार”’ देखाएको आरोप लगाउँदै सम्मेलनबाट पछाडि हट्ने घोषणा गरेका थिए। तर सिंगापुरमा जुन १२ को प्रस्तवित द्विपक्षीय वार्ताका लागि भइरहेको तयारी र उत्तर कोरियाको मैत्रीपूर्ण प्रतिक्रियापछि बैठक पुनः हुने वातावरण बनेको थियो।

गुलियानीले इजरायलमा वैदेशिक लगानी सम्मेलनलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेको हो। गुलियानीले भने– ‘किम जोङ उन घुँडा टेकेर आए र वार्ताका लागि अनुनय विनय गरे। ठीक त्यही स्थितिमा जुन स्थितिमा तपाईहरू उनलाई हेर्न चाहनुहुन्थ्यो।’ गुलियानी राष्ट्रपति ट्रम्पका वकिल हुन् र उनले अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपको जाँचको मामिलालाई हेरिरहेका छन्।

गुलियानीको उक्त टिप्पणीलाई लिएर उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। किमसँगको ऐतिहासिक शिखर वार्ताका सम्बन्धमा मंगलबार डोनाल्ड ट्रम्पले योजनाहरू राम्रोसँग अगाडि बढिरहेको उल्लेख गरेका थिए।

यसअघि मेमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको परिस्थितिको तुलना लिबियासँग गरेपछि उक्त शिखर सम्मेलन हुने सम्भावना करिब समाप्त भइसकेको थियो।

बोल्टनले प्योङयाङको निशस्त्रीकरण ‘लिबिया मोडल’मा हुन सक्ने बताएका थिए। यसबाट उत्तर कोरिया चिन्तित भएको थियो। लिबियामा जन विद्रोहका क्रममा पश्चिम समर्थित विद्रोहीद्वारा कर्नेल गद्दाफीको हत्यापछि लिबियाको परमाणु कार्यक्रमको अन्त्य भएको थियो।

उत्तर कोरियाले विदेशमन्त्री बोल्टनको बयानमा कडा प्रतिक्रिया दिँदै विज्ञप्ति जारी गरेको थियो। त्यसपछि ट्रम्पले आफ्ना सलाहकारको टिप्पणीबाट आफूलाई टाढा राखेका थिए।