विमान उडाउने धम्की दिनेलाई कारावास

0
Shares

मेलवर्न, (एजेन्सी)
गत वर्षको मेमा मलेसियाली एयरलायन्सको यात्रुवाहक विमानमा बम पडकाइदिने धम्की दिने एक जना श्रीलंकाली पुरुषलाई अस्ट्रेलियामा कारावास सजाय दिइएको छ।
२६ वर्षीय मानोध माक्र्सले मलेसियाका राजधानी क्वालालम्पुरका लागि उडेको कल साइन एमएच–१२८ बोकेको विमान मेलवर्न फर्काउन बाध्य पारेका थिए। उनले ककपिटभित्र छिरेर धम्की दिएका थिए।

अदालतले पछि अनुसन्धानबाट उनले कुनै विस्फोटक पदार्थ नबोकेको र लागूऔषध सेवनको कारण उनीमा पागलपन सवार भएको जनाएको छ। विमानलाई आफ्नो नियन्त्रणमा लिन खोजेकै कारण कुनै पनि व्यक्तिलाई अस्ट्रेलियामा कारावास सजाय दिइएको यो पहिलो घटना हो।

बिहीबार काउन्टी कोर्ट अफ भिक्टोरियाका न्यायाधीश माइकल म्याकइनर्नीले अधिकतम १२ वर्ष कैद भुक्तान गरेपछि माक्र्सलाई स्वदेश फर्काइने बताएका छन्। उनलाई सजाय सुनाउने क्रममा न्यायाधीशले यात्रुहरू मात्र नभई चालक दलका सदस्यसमेत माक्र्ससँग साँच्चै बम रहेको विश्वास गर्दै अत्यन्तै चिन्तित भएको बताएका छन्।

अन्ततः माक्र्सलाई यात्रुहरूले नियन्त्रणमा लिएको पन्ध्र मिनेटपछि २ सय जनाभन्दा बढी मानिस सवार सो विमानलाई सकुशल अवतरण गराइएको थियो। स्टुडेन्ट भिसामा अस्ट्रेलियामा रहेका माक्र्सलाई घटनाकै दिनमा मात्र एउटा मानसिक रोग उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो। विमानस्थलतर्फ जाने क्रममा बाटोमै उनले आइसका ेनामले पनि चिनिने लागूऔषध क्रिस्टल मिथाम्फेटामाइन सेवन गरेका थिए।