चम्किलो देखाउन तरकारीमा विषादी

0
Shares

प्रशान्त वली, काठमाडौं
बजारमा भित्रिने तरकारीमा छ्यापछ्याप्ती विषादीको प्रयोग हुने गरेको भेटिएको छ। बाली संरक्षण निर्देशनालयले सबै तरकारी र फलफूलमा ५ देखि १० प्रतिशतसम्म विषादीको मात्रा प्रयोग हुने गरेको बताएको छ। बाली संरक्षण निर्देशनालयका अधिकृत मानबहादुर क्षेत्रीले गोलभेडा, करेला, काउली, सिमी, बोडीमा बढी मात्रामा विषादीको प्रयोग हुने गरेको बताउनुभयो।

कालीमाटी तरकारी बजारमा दैनिक ७० भन्दा बढी प्रकृतिका तरकारी र फलफूल भित्रिने गरेको छ। क्षेत्रीकै नेतृत्वमा टोली खटिएर विषादीको मात्रा जाँच्ने भए पनि पर्याप्त भने छैन। बाली संरक्षण निर्देशनालयबाट खटिएको टोलीले दैनिक ८ देखि १० वटा तरकारीको मात्र नमुना परीक्षण गर्ने गरेको छ।

कृषि प्राविधिकको सल्लाहबमोजिम मात्रै तरकारी तथा फलफूलमा विषादीको प्रयोग गरिनुपर्ने बाली संरक्षण निर्देशनालयले जनाएको छ। कुल विषादीको ३ प्रतिशत घातक अर्थात् प्रतिबन्धित विषादी किसानले प्रयोग गर्ने गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। सीमा क्षेत्रबाट लुकिछिपी रातो डिब्बाको विषादी भित्रिने गरेको अधिकृत क्षेत्रीले बताउनुभयो।

टेकुका अनिल अधिकारी बेलुकीको समयमा फलफूल किन्न कालिमाटी पुगे। उनले पहेंलो रङ देखिने आँप किने। विषादीको बारेमा जिज्ञाशा राख्दा अधिकारीले भने– ‘के गर्नु देखिँदा पहेंलो देखिन्छ। खानै प¥यो विषादीको प्रयोग हुन्छ होला। मलाई त केही थाहा छैन यो विषयमा।’

विषादी प्रयोग भएको तरकारी चाँडै सड्ने गरेको छ। कीर्तिपुरकी सविना केसीले नयाँ बजार गेटमा करेला किनिन्। तर, कोठामा पुग्दा करेलामा सानो खालको कीरा देखियो। सविनाले भनिन्– ‘हतार थियो छिटोछिटो किनेको त कीरा रैछ। के गर्नु, ध्यान नदिएर किन्दा यस्तो भयो।

यी त प्रतिनिधि पात्र मात्र हुन्। दैनिक लाखौं जनता विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य छन्। गत पुसमा धादिङबाट आएको सिमीमा विषादीको मात्रा अत्यधिक देखिएको थियो।

कृषकदेखि विक्रेतासम्मले विषादीको प्रयोग सुरक्षित तवरबाट नगरेको विषादीको मात्रा जाँच्दै आउनुभएका जागेश्वर शर्मा बताउनुहुन्छ। तरकारी लगाए पनि समय नपुग्दै टिप्दा विषादीको मात्रा बढ्दै गएको बाली विज्ञहरू बताउँछन्।

विषादीको प्रयोग सुरक्षित तवरले गरिएको पाइँदैन। यदि सही तरिकाले मात्रात्मक रूपमा विषादी प्रयोग गरे मात्रै त्यस्तो तरकारी खान मिल्ने हुन्छ। शुरुकै परीक्षणमा ४५ प्रतिशत रोकावट प्रतिशत देखियो भने खान नमिल्ने क्षेत्रीले बताउनुभयो।

नमुना नष्ट नगरी त्यस्तो खाद्यबस्तु खाइयो भने त्यसले शरीरमा असर गर्न सक्छ। आँप पहेँलो देखिनुमा कार्बोहाइट तत्व हालेर पकाइन्छ। परीक्षणका क्रममा ३५ देखि ४५ प्रतिशत देखियो भने खान मिल्दैन। बाली संरक्षण निर्देशनालयका अनुसार अहिले नेपालमा ३ सय ९६ ग्राम प्रतिहेक्टर जमिनमा विषादीको प्रयोग भएको छ। जबकि कोरिया, जापानलगायतका देशमा प्रतिहेक्टर ८ देखि १० किलो प्रयोग भएको देखिन्छ।

तरकारी तथा फलफूलमा विषादीको मात्रा देखिन थालेपछि सरकारको समन्वयमा देशभरका सात स्थानमा विषादी मापनयन्त्र जडान गरिएको छ। झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, काठमाडौंको कालीमाटी, पोखरा, बुटवल, नेपालगन्ज र अत्तरियामा मापनयन्त्र जडान गरिएको छ। सो यन्त्रले तरकारीको नमुना परीक्षण लिएको ३० देखि ४५ मिनेटमा नतिजा ल्याउने गर्छ।

बाली संरक्षण निर्देशनालयका अधिकृत क्षेत्रीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तरकारी खानुभन्दा अगाडि पखालेर खाए केही मात्रामा विषादी हट्छ।’ तरकारीलाइ फ्रिजमा राखेर खान नहुने तरकारी र फलफूलको आकृतिमा चम्किलो देखाउनसमेत विषादीको प्रयोग गरिएको उहाँको भनाइ छ।