आईएनजीओको तालिममा सांसदको लर्को

0
Shares

गंगा बराल, काठमाडौं
संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई अभिमुखीकरण तालिम दिन शुरू गरेको छ। संघीय संसद् शुरू भएको ३ महिनापछि उनीहरूलाई बुधबारदेखि उक्त तालिम दिन शुरू गरिएको हो। तर संसद्जस्तो निकायले एनजीओ÷आईएनजीओको लगानीमा उक्त कार्यक्रम सञ्चालन गरेको भन्दै केही सांसदहरूले बहिष्कार गरेका छन्।
बहिष्कार गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरू झपटबहादुर रावल, विशाल भट्टराई, खिमलाल भट्टराई, कोमल ओलीलगायत हुनुहुन्छ। खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले सरकारले आफ्नो योजनाभन्दा अरूको सहयोग लिएर गरेको कार्यक्रम भएकाले असहमति जनाएको बताउनुभयो। ‘सरकारले संसद् सचिवालयलाई प्रशस्तै रकम छुट्याएको रहेछ, राष्ट्रिय अस्मिता संकटमा पर्छ कि भनेर यस्ता कार्यक्रम स्वीकार गरिनँ।’ –भट्टराईले भन्नुभयो।

सांसद रावलले एनजीओ÷ आईएनजीओको कार्यक्रम भएकाले आफूले सहभागिता नजनाएको बताउनुभयो।‘यसरी एनजीओको प्रभाव बढाउने काम भएको छ, उसकै स्वार्थअनुसार काम गरिएपछि आफ्नो लागि सोच्न सकिँदैन’, रावलले भन्नुभयो– ‘जनताको समस्या त छँदै छ अब सरकार पनि माग्ने अवस्थामा पुगेको भान हुन्छ, जसले कार्यक्रम गर्छ उसको स्वार्थ पूरा गर्नुपर्ने बाध्यता छ हामीसँग।’ रावलले कसैको प्रभावमा सांसद पर्ने हो भने जनताका अपेक्षाअनुसार काम गर्न सम्भव नभएको बताउनुभयो।

‘संसदीय प्रक्रियासम्बन्धी जानकारीमूलक कार्यक्रम’ नाम दिइएको यो कार्यक्रम आज बिहीबारसम्म चल्नेछ। तर उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालसहित पार्टीका शीर्ष नेताहरू कोही उपस्थित भएको देखिएन। तर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसहित अन्य सांसद उपस्थित हुनुहुन्थ्यो।

सभामुख, अध्यक्ष र मन्त्रीले संसद् अधिवेशन शुरू हुनेबित्तिकै दिनुपर्ने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम ढिलो भएको स्विकार्नुभयो। संसद्को बैठक फागुन २१ गते शुरू भएको थियो।

बुधबार संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वकानुनमन्त्री तथा कानुन सुधार आयोगका अध्यक्ष माधव पौडेल, कानुन मन्त्रालयका पूर्वसचिव कमलशाली घिमिरे र संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले संसदीय प्रक्रिया, संसद्मा प्रस्तुत हुने विधेयक र पारितको प्रक्रिया, कानुन मस्यौदाका प्रक्रियाबारे दुवै संसद्का सदस्यलाई जानकारी गराउनुभएको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद निरादेवी जैरुले केही ज्ञान प्राप्त भएको बताउनुभयो। ‘नयाँ सांसदका लागि भने यो फलदायी नै छ, संविधानसभाबाट संविधान बनेको प्रक्रिया र त्यसबीचमा भएका अनेक समस्याका बारेमा पनि जानकारी पाइयो।’ –जैरुले भन्नुभयो।

बुधबारको कार्यक्रम राष्ट्र संघीय विकास परियोजना (युएनडीपी) को सहयोगमा गरिएको थियो भने आज बिहीबार अमेरिकी संस्था नेसनल डेभलपमेन्ट इन्स्टिच्यूट (एनडिआई) ले बुढानीलकण्ठको पार्क भिलेज होटलमा केही विशेष सांसद्का लागि आवासीय सुविधासहितको कार्यक्रम आयोजना गरेको छ। आयोजकले केही विशेष व्यक्तिलाई निम्तो पठाएको स्वीकार्दै सांसद् रावलले उक्त कार्यक्रम पनि वहिष्कार गर्ने बताउनुभयो।

दातृसंस्थाको लगानीमा कार्यक्रम हुँदा आलोचना भएको स्कीकार्दै सभामुख महराले यसमा सामान्य मात्रै सहयोग रहेको तर धेरै खर्च संसद् सचिवालयको नै रहेको दाबी गर्नुभयो। ‘केही सहयोग त छ तर योजना हाम्रै हो, अरू शंका गर्नुपर्दैन’ –महराले भन्नुभयो।

स्मरणीय छ, सांसद्हरू संसद् बैठक चलिरहँदा हाजिर गरेर भाग्ने गरेका छन्। उनीहरूले बैठकभत्ता र यातायात गरी दैनिक २ हजार रूपियाँ पाउँछन्। संसद्मा सधैं बस्ने र दैनिक गतिविधिमा सहभागी हुने सांसद्हरूले आफूले बोलेको कुरा सुनुवाइ नभएकोमा गुनासो गर्दै आएका छन्, उनीहरूले प्रमुख भनिने नेताहरूले संसद्प्रति चासो नदेखाएको आरोप लगाएका छन्। जुम्लाबाट निर्वाचित तत्कालीन नेकपा माओवादी केन्द्रका सांसद् गजेन्द्रबहादुर महत संसद्मा भूमिका नपाएको र भूमिका कमजोर बनाइएकोमा पटकपटक आवाज उठाउँदै आएको बताउनुहुुन्छ।

बिहीबार नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, संविधान सभाका पूर्वसदस्य लालबाबु प्रसाद यादव, संसद् सचिवालयका सचिव बिरेन्द्रबहादुर कार्की, कांग्रेसका पूर्वसांसद् रमेश लेखकबाट सहजीकरण गर्ने कार्यतालिका छ। अन्त्यमा प्रतिनिधिसभाकी उपसभामुख र राष्ट्रिय सभाकी उपाध्यक्षले समापन मन्तव्य राखेपछि कार्यक्रम सकिनेछ।