अध्ययन समिति गठन, आन्दोलन जारी



नेपाल समाचारपत्र
काठमाडौं
अग्रिम कर असुलीका विषयमा लगानीकर्ताले आइतबारदेखि निरन्तर शेयर बजारको कारोबारमा अवरोध सिर्जना गर्न थालेपछि अर्थ मन्त्रालयले विवादका सम्बन्धमा अध्यय गर्न समिति गठन गरेको छ।

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा मंगलबार अध्ययन समिति गठन गरिएको हो। उक्त समितिले १५ दिनभित्र बोनस र हकप्रद शेयरको अंकित मुल्यलाई आधार मानेर लाभकर लगाउने विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिनेछ।

सो समितिको प्रतिवेदनका आधारमा सरकारले हकप्रद र बोनस शेयरमा लागू गरिएको करका सम्बन्धमा निर्णय गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
उक्त समितिमा आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र शेयर लगानीकर्ताका प्रतिनिधि रहनेछन्।

अर्थ मन्त्रालयले हकप्रद र बोनस शेयरमा अग्रिम कर लगाउने आन्तिरिक राजस्व विभाग तथा शेयर लगानीकर्ताको आन्दोलन अध्ययन गर्न समिति गठन गरे पनि लगानीकर्ताले भने आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्।

बुधबार नेपाल धितोपत्र बोर्डको कार्यालयमा जम्मा भएर आन्दोलनका थप कार्यक्रम तय गरिने लगानीकर्ताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्