रोटरीद्वारा पत्रकार सम्मानित

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
रोटरी डिस्ट्रिक–३२९२ ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली पत्रकारिताका माध्यमबाट जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्दै आएका ६ जना पत्रकार तथा संस्थालाई ‘सातौं रोटरी जोर्नो अवार्ड २०१८’ बाट एकै साथ पुरस्कृत गरिएको छ।

नागरिक दैनिकका स्वास्थ्य पत्रकार दीपक दाहाल, कान्तिपुर दैनिकका शिक्षा पत्रकार मकर श्रेष्ठ, गोरखापत्र दैनिककी राधा चालिसे, वातावरणका क्षेत्रमा सन्देशमूलक कार्यक्रमलाई प्राथमिकता दिने आँखीझ्याल कार्यक्रम, सञ्चारिका समूहकी पत्रकार बिनु पोखरेल र बीबीसी नेपाली सेवामा कार्यरत वसुन्धरा अधिकारी गौतमलाई नगद पुरस्कारसहित कदरपत्रद्वारा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, रोटरी क्लबका डिस्ट्रिक गभर्नर सञ्जय गिरीलगायतका उच्च पदस्त व्यक्तिले सम्मान गर्नुभएको थियो।

रोटरी डिस्ट्रिक–३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीले पत्रकारको सम्मान राम्रो कामका लागि गरेका छौं भन्दै रोटरीको केन्द्रित क्षेत्र सामाजिक सेवा, वातावरण, स्वास्थ्य, शिक्षा, आर्थिक उपार्जन र सामाजिक परिवर्तन भएकाले यिनै क्षेत्रमा पुरस्कारको व्यवस्था गर्दै आएको पनि उहाँले आंैल्याउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव विष्टले यो पुरस्कारले राजनीतिभन्दा बाहिर पनि पत्रकारितामा अथाह सम्भावना छ भन्ने सन्देश दिने र यो पुरस्कारले रोटरी क्लबले गर्दै आएको सामाजिक काम र त्यसको मूल्यांकन गर्नलाई समेत स्पष्ट आधार तय भएको कुरा उल्लेख गर्दै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो।
सोही अवसरमा पूर्वडिस्ट्रिक गभर्नर तीर्थमान शाक्यले भन्नुभयो– ‘सामाजिक काम र सेवा गर्दै जाने काम रोटरीको हो मूल्यांकन स्वतःस्फूर्तरूपमा हुन्छ भन्ने विश्वास लिएका छौं।’ उहाँले सन् २०१२ देखि पब्लिकका सामु गरेका कामको मूल्यांकनकै लागि समाजका आँखा खोलीदिने आवाजविहीनहरूका आवाज बुलन्द पार्दै आएका पत्रकारहरूलाई सम्मानको थालनी गरिएको बताउनुभयो।

यो पुरस्कारको स्थापना नेपाली जनता र नेपाली पत्रकारितामा सकारात्मक सोचको विकासका लागि गरिएको हो। रोटरी अवार्ड हालसम्म ३९ जनाले प्राप्त गरिसकेका छन्।
रोटरी इन्टरनेसनल विशुद्ध सामाजिक सेवामा काम गर्ने संस्था भएकाले १ सय १३ वर्षको इतिहास बोकेको संस्थामा अन्य संघसंस्थामा जस्तो थुप्रो सदस्य हुने र अन्तबाट बजेट आउने एनजीओ होइन। यो विशुद्ध रोटरीयनहरूको पकेटबाट पैसा निकालेर एकै थलोमा जम्मा गरी परियोजना तय गरेर काम गर्ने संस्था हो।

त्यसैले विश्वमा अहिलेसम्म रोटरीमा जम्मा १२ लाख मात्र सदस्य रहेका छन्। नेपालमा १ सय १५ र भुटानमा एउटा रोटरी डिस्ट्रिक–३२९२ अन्तर्गत रहेको पनि शाक्यले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘रोटरीले विगत ७ वर्षदेखि प्रदान गर्दै आएको प्रतिव्यक्ति २५ हजार नगद र कदरपत्रका लागि नेपालकै रोटरी सदस्यले वर्षमा १ सयका दरले कोष खडा गरी वितरण गर्दै आएका छौं।’ नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाको सहकार्यमा ९ सदस्यीय छनोट कमिटी बनाई पत्रकार तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्ने गरेको पनि जानकारी गराउनुभयो।

सोही अवसरमा पत्रकार छनोट समितिका संयोजक तथा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुरस्कृत हुने पत्रकारहरूले आगामी दिनमा पनि रोटरीको गतिविधिलाई निगरानी गर्न र पुरस्कारको कदर कायम राखेर अघि बढ्यो भने पुरस्कारको अर्थ र महŒव रहने बताउनुभयो। उहाँले नेपालमा तत्कालीन राजा महेन्द्रले इनिसेसन लिएर ६० वर्षअघि अर्थात् सन् १९५८ मा सामाजिक सेवाका क्षेत्रमा कार्य गर्न भिœयाएको अन्तर्राष्ट्रिय संस्था भएको बताउँदै यसले आफ्नो कामलाई समय सापेक्ष ढंगले अघि बढाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो।