डोनाल्ड ट्रम्प र किम जोङबीच १२ जुनमै भेटवार्ता तय, विश्व शान्तिका लागि महङ्खवपूर्ण आधार

0
Shares

वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी १२ जुनमै भेटवार्ता हुने तय भएको छ। अमेरिकी राष्ट्रपति भवन ≈वाइट हाउसमा शुक्रबार ट्रम्प र किम जोङ उनका विशेष दूत जनरल किम योंग चोलबीच भेटवार्ता भएपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार १२ जुनमै सिंगापुरमा ऐतिहासिक भेटवार्ता गर्ने सहमती भएको हो।

यसअघि १२ जुनमा सिंगापुरमा तय भएको ट्रम्प र किमबीचको भेटवार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको निहुँ खोज्ने खालको वक्तव्यबाजीबाट रिस उठेको भन्दै एकतर्फीरूपमा रद्द गरेका थिए। उत्तर कोरियाको गतिविधिको आलोचना गर्दै ट्रम्पले वर्तमान परिस्थितिमा किमसँग भेट्न नसकिने ब्यहोरा उल्लेख गरी पत्र पठाएका थिए। तर उत्तरकोरियाले भने अझैपनि विश्व शान्तिलाई नै ठूलो योगदान दिने सो ऐतिहासिक शिखरवार्ताका लागि इच्छुक रहेको अभिव्यक्ति जनाएको थियो। परिणमस्वरूप दुवै देशका कुटनीतिज्ञबीच वार्ताको वातावरण बनाउने प्रयास प्रारम्भ भएको थियो। सोही प्रयासअनुसार उत्तर कोरियाली नेता किमले आफू निकटका चोललाई अमेरिका पठाएका हुन्।

उत्तर कोरियाका वरिष्ठ अधिकारी चोल बिहीबार चीनको राजधानी बेइजिङ हुँदै न्यूयोर्क पुगेका थिए। त्यहाँ उनले शुरूमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए।त्यसपछि शुक्रबार चोलले ट्रम्पलाई भेटेर किम जोङ उनले पठाएको पत्र ट्रम्पलाई दिएका थिए। त्यसपछि बल्ल ट्रम्पले १२ जुनमै भेटवार्ता हुनसक्ने जानकारी दिएका हुन्। गत महिना उत्तर र दक्षिण कोरियाबीच दक्षिण कोरियामा विशेष शिखर वार्ता हुनुअघि उत्तर कोरियाका सर्वोच्च नेता किम चीन पुगेर चिनियाँ राष्ट्रपति सी जिन पिङसँग महङ्खवपूर्ण छलफल गरेका थिए।

यसैबीच किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच भएको वार्ताको दौरान कोरियाली प्रायद्वीपमा युद्ध अन्त्य भएको औपचारिक घोषणा गर्ने र त्यस क्षेत्रलाई आणविक हातहतियार सन्त्रासमुक्त बनाउने सहमती भएको थियो। झन्डै तेस्रो विश्वयुद्ध शुरू हुनसक्ने खतरा निम्तिसकेको अवस्थामा दुई कोरियाबीच सम्पन्न सो वार्ता सफल भएकामा अन्तर्राष्ट्रिय जगत्ले निकै प्रशंसा र स्वागत गरेको थियो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्– ‘१२ जुनमा सिंगापुरमा हुने भेटवार्तामा कोरियाली प्रायद्वीपमा युद्धलाई औपचारिकरूपमा समाप्त गर्ने विषयमा हाम्रो छलफल केन्दि«त हुनेछ।’

यदि किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता भयो भने अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शीर्ष नेताबीचको यो इतिहासकै पहिलो भेटवार्ता हुनेछ।

दक्षिण र उत्तर कोरियाबीच सन् १९५० देखि १९५३ सम्म युद्ध भएको थियो। तर बिना कुनै शान्ति सम्झौतामा हस्ताक्षर नभई केबल युद्धविराममा मात्र युद्ध समाप्ती भएको हुनाले अहिलेसम्म प्राविधिकरूपमा सो युद्ध जारी रहेको मानिन्छ। हालै दक्षिण कोरिया भ्रमण गरेर उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापना गर्ने सहमती गरेका थिए।

सो सहमतीलाई कार्यान्वयन गर्ने क्रममा उत्तर कोरियाले अन्तर्राष्ट्रिय पर्यवेक्षकको उपस्थितिमा केही दिनअघि मात्र आफ्नो एक आणविक परीक्षण केन्द्रको सुरुङ नष्ट गरेको थियो।