किम–लाभरोभ भेटवार्ता

0
Shares

प्योंगयांग,(एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच प्योंगयांगमा भेटवार्ता भएको छ। ट्रम्प र किमबीच १२ जुनमा शिखर वार्ताको तयारी भइरहेका बेला रुसी विदेशमन्त्री अचानक प्योंगयांग पुगेका हुन्।

रुसी विदेशमन्त्री लाभरोभले अन्तर्राष्ट्रिय नाकाबन्दी उत्तर कोरियाको आणविक हतियारलाई कम गर्दै लैजाने क्रमसँगै कम हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
नेता उन र विदेशमन्त्री री योंग–होसँगको भेटपछि उनले उत्तर कोरियाले चरणबद्धरूपमा उत्तर कोरियाले नाकाबन्दी खुकुलो बन्दै जाने क्रममा आणविक हतियार कार्यक्रम पनि विस्तारै त्याग्दै जाने विश्वास व्यक्त गरेका हुन्। लाभरोभले पत्रकार सम्मेलनका क्रममा भनेका छन्– ‘जब हामी कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त राख्ने कुरा गर्दछौं। त्यो उत्तर कोरियामाथि लागेको प्रतिबन्ध नहटाएसम्म कदापी सम्भव हुँदैन। यो एकै चरणमा गर्न सकिँदैन। चरण–चरणमा गर्नुपर्छ र सबै पक्षलाई यसमा साथ लिएर अघि बढ्नु आवश्यक छ।’

वासिंगटनले उत्तर कोरियामाथिको नाकाबन्दी हटाउन उत्तर कोरियाले तत्काल आफूलाई आणविक हतियारमुक्त बनाउनुपर्ने बताइरहेका बेला रुसको पछिल्लो धारणा सार्वजनिक भएको हो। अमेरिकाले उत्तर कोरियाको पनि आणविक हतियार कार्यक्रम त्यागेको लिबियाको जस्तै हालत हुनसक्ने बताएपछि उत्तर कोरिया आक्रोसित भएको थियो। लाभरोभले किमलाई रुस भ्रमणका लागि निम्तो दिएका छन्।