हाम्रो मुलुकमा आधारभूत जनता गरीब छन् त के भो र? पार्टीहरू धनी छन्। गणतन्त्रमा गणपति र तिनका आसेपासेहरू धनी छन्। अर्थात् नेता कार्यकर्ताहरू धनी छन्। मन्त्री, प्रधानमन्त्री भूत हुन् कि वर्तमान सबै धनी छन्। मन्त्री प्रधानमन्त्रीका आडभरोसामा जरिएका तस्करहरू, डनहरू, नम्बरी ठेकेदारहरू, भ्रष्टाचार दक्ष कर्मचारीहरू सबै धनी छन्। कांग्रेसको त कुरै नगरुँ। पहिल्यैदेखि धन कुबेरको पार्टी। यहाँ कम्युनिस्ट पार्टीमा समेत सेठ मात्र होइन महासेठसमेत छन्।
हालका मन्त्रीका भर्खरैको सम्पत्ति सार्वजनिकपछि १ जना महासेठ मन्त्री महोदयको अकूत सम्पत्ति विवरण पढेर विद्वान् मित्र रघु घिमिरेले सामाजिक सञ्जालमार्फत् आश्चर्य व्यक्त गर्नुभयो। उहिल्यै राजा महेन्द्रको भूमिसुधारले तोकेको हदबन्दीभन्दा पनि २ सय बिघा जमिन बढी कसरी? कानुनअनुसार मात्र जफत गरेर २÷२ धुर बाँड्ने हो भने पनि केबल १ जना मन्त्रीको जग्गाले ३२ हजार सुकुम्वासीको समस्या समाधान हुनसक्छ। जनक्रान्ति सम्पन्न भइसकेको देशमा भू–सामन्तहरू कसरी बाँकि रहे? कुनै समाजवादी माइकलालसँग यसको जवाफ छ?
समाजवादको सिंहनादका साथ जुटेको यत्रो जखमले नेकपा अन्डरलाइनभित्र यस्ता प्रश्नको जवाफ दिने माइकलाल नहोलान् र? कति होलान्, होलान्। जहाँ शीर्ष नेता मात्र दर्जनौं छन्। केन्द्रीय नेता सयौं छन्। ती सबै आ–आफ्ना माइकलाल नै त होलान्। लाग्यो, अब जवाफले सामाजिक सञ्जाल भरिन्छ होला।
एकएक गरी दिनहरू बिते। कुनै माइकलालबाट जवाफ आएन। स्वयं महासेठबाट पनि जवाफ आएन। चुनाव जितेर सरकारमा पुगेको पार्टी अन्डरलाइन। त्यसको सचिवालयले पनि जवाफ दिन सक्थ्यो। त्यताबाट पनि जवाफ आएन। जिज्ञासा तीव्र भएर पनि सटिक प्रश्नको सटिक जवाफ पढ्न पाइएन। अरू समाजवादी मन्त्रीका श्रीमती धनी, मन्त्री आफू हरिकंगाल। कुनै एक समाजवादी मन्त्री श्रीमान् श्रीमती दुवै चौपट्टै धनी। सुन, चाँदी, हीरा, जवाहरात र भूसम्पदा सबैसबै घडेरीगम्म, तब न महासेठ! समाजवादको परिदृश्य यसरी नै आरम्भ हुन्छ, सायद। आगामी पुस्ताको जानकारीकै लागि मात्र पनि विषय अभिलेखनीय लाग्यो।
यसैबीच सच्चा कम्युनिस्टका महान् गुरु कार्लमाक्र्सको जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा क. प्रचण्ड र प्रधानमन्त्री क. ओलीका अगुवाइमा देशविदेशका कम्युनिस्ट पार्टीका नेता र वुद्धिजीविको समारोही शैलीको भव्य सेमिनार आयोजित भएको र कार्यपत्र प्रस्तुत गर्नेमा कमरेड प्रचण्ड पनि रहनुभएको समाचार पढियो। यसैबीच सामाजिक सञ्जालमा १ जना विद्वान् र अनुभवी साथीको टिप्पणी पढेँ। कमरेडहरूले यस्तो पनि भने– ‘दाइ, हाँसो लाग्यो। जो पात्र कम्युनिस्ट रहेन। जो खुला बजार, निजीकरण, उदारीकरणका पक्षमा काम गरिरहेको छ उही अन्तर्राष्ट्रिय माक्र्सिजम सेमिनारको पण्डा। ‘सौ चूहे खाकर बिल्ली चली हज करने…’
सामाजिक सञ्जालमा कतिपय टिप्पणी सटिक पनि हुन्छन्। चिया पसलका गफ पनि कति त सटिक नै हुन्छन्। ठमेलको एउटा साधारण चिया पसलमा एकजना खाइलाग्दा युवा आफ्ना सहपाठी साथीसँग भन्दै थिए– ‘भारतको गयाजस्ता । श्राद्धे तीर्थतिर पण्डा भन्दारहेछन्। हामी पुरेत भन्छौं। पुरेतहरू अचाक्ली लोभी हुन्छन्। भनेजति दानदक्षिणा पाएनन् भने रडाको गर्छन्। हाम्रा नेता, सांसद, मन्त्री, प्रधानमन्त्री सबै पुरेत हुन्। पुरेतहरू लिनेखाने कुरामा एक हुन्छन्। अघिपछि आपसमा गाँड कोराकोर पनि गर्न सक्छन्। यिनै पुरेतका कारण हामीकहाँ गणतन्त्र त पार्टीतन्त्रमा परिणत भइनै सक्यो। कथित लोकतन्त्र पनि जनताका लागि ‘अप्ठ्यारोमा फलेको फर्सी’ बनेको छ।’
नजिकै अर्को टेबलमा चिया पिइरहेका लेखक पत्रकार पाराका एकजना अधबैंसे मुसुमुसु हाँस्दै भन्दै थिए– ‘राजनीति गर्ने किन? सके राजा हुन। राजै हुन नमिले रजौटा हुन। करोडौं खर्च गरेर सांसद जितिएको छ त महिनावारी लाखौंको उपलब्धिले पुग्छ? वर्षको ४ करोड पनि आफ्नो हात जगन्नाथ गर्न नपाए यो नाथे जागिर किन खाने? मुलुकमा फस्टाइरहेका नीला पहेँला कति व्यवसाय छन्। रातारात अर्बौं फल्न सक्छ। माननीय सांसदहरू त अनेकौँ भुसका बोरामा लात हान्दै ठूलो त्याग गरेर राजनीति व्यवसायमा आएका। यस्ता महिमाशाली माननीयलाई अर्थमन्त्रीले वडाअध्यक्ष सरह बनाइदिन त भएन नि! हैन र?’
उनका अर्का सहपाठी ठट्यौलो पारामा भन्दै थिए– ‘विचरा! पण्डित बिनासित्तीको ट्रयापमा परेछन्। जहाँ भोजनभट्टहरू छन्, र्यापेसियसहरू छन्, निरन्तर र्यापको चक्करमा रहन्छन्। त्यहाँ पण्डितहरू ट्रयापमा नपरे अरू को पर्छन्? कुरा हाम्रो भूकम्पमा भत्केको धररहराजत्तिकैै सोझो छ। छ कि छैन?’
तेस्रा सहपाठीले अनुहार गम्भीर बनाउँदै भने– ‘म हास्यव्यङ्ग्यमा विश्वास गर्दिनँ। यसै भएर तपाईंहरूका कुरामा मेरो विमत्ति छ। ‘सरकारी ढुकुटी जनताको नासो हो। जनताको सहमतिबाट जनताको हित प्रत्याभूत भएपछि जनताले मात्र यसबाट खर्च गर्न मिल्छ। यसमा बीचमा कसैलाई लामो हात गर्ने अवसर दिन मिल्दैन। दिन्नँ। दिनैपर्छ भने म यो अर्थमन्त्रीको जागिर खान्नँ भन्न नसकेको किन? उनी त अन्डरम्याट्रिक राजनीतिज्ञ होइनन्, पढेगुनेका विद्वान् अर्थशास्त्री हुन्। अनि यसपालि सदनमा हजारौं वडाअध्यक्षको मानहानी भएको छ। यसको न्यायिक उपचार कसले गर्ने?’
चियापसलको गफ गुन्दैगुन्दै घर फर्केर जुत्ता खोल्दै थिएँ, जयश्रीराम! भन्दै १ जना युवा पण्डित टुप्लुक्क आइपुगे। कथा भन्ने पण्डित। मलाई राजनीतिक गतिविधिमा चासो छ भन्ने बुझेर होला यी पण्डित मलाई भेटेपछि राजनीतिकै कुरा झिक्छन्। आफू उनी निक्खरा कांग्रेस हुन्। मलाई वामपन्थी ठानेर होला प्रायः पुराना वामपन्थी राजनेताका सच्चरित्र बखानबाट कुरा शुरू गर्छन्। आज उनी सधैंझैँ मङ्लाचरण भट्टयाउनतिर लागेनन्। सोफामा बस्दै भटाभट शुरू भए– ‘मुलुक त डुब्यो हजुर, लोभीपापीले डुबाए। सत्तामा बस्नेहरूमा न्याय नैतिकता सबै सकियो। जनतालाई पखेटा चुँडालेर सडकमा फ्याँकिएका चराजस्ता बनाए। कठैबरा! यस मुलुकले शेरबहादुरजस्ता सरकारप्रमुख र पराजुलीजस्ता न्यायप्रमुख पनि बेहोर्यो।
यसैबीच राष्ट्रिय ढुकुटीबाट जथाभावी खहरे बगाएर भए पनि ३÷३ वटा चुनाव भयो। नयाँ किसिमका नेताहरू सरकारमा आए। अब त मुलुकले राम्रो बाटो लेलाकि भन्ने ठानेको। नयाँ आएका माननीय सांसदले पनि ४ करोड सरकारी रकम हात पार्न गति छाडेर सदनमा कुर्लेको सुनेपछि म भरंग भएँ। अनि यो अन्डरलाइन भन्ने पार्टीले किन कसलाई खुसी पार्न हो कुन्नि ‘उपेन्द्र महतो र राजेन्द्र यादवका पार्टीलाई पनि सरकारमा तान्ने निधो गर्यो। उनीहरू आउने पनि भए’ भन्ने सुनेपछि मेरो त अलिअलि बाँकी रहेको आश पनि खुत्रुक्कै मर्यो। यो त आ–आफ्नो दुनो सोझ्याउने कुरा मात्र भयो। आखिर जुन जोगी आए पनि कानै चिरेका। हैन त हजुर? अनि यो अन्डरलाइन भनेको लम्पसार भनेको हो हजुर? जीवन मास्टर त त्यसै भन्छन्!’
‘राजनीतिक गोलमाल गृहलाई बजेट–बाँसको टेको! भ्याए पाएसम्म अझ हरियो बाँसको टेको !! हरियो हुँदा सर्ने÷उम्रने पनि आश रहन्छ!!! सत्तासीनहरूको व्यावसायिक शैली हिजो पनि यस्तै थियो, आज पनि यस्तै छ। मान्छे फेरिँदा छन्, संस्कृति फेरिएको छैन। मुलुकमा क्रान्तिहरू त भए। चपरी फर्काउने क्रान्ति अझै भएको छैन। मैले बुझेको यत्ति हो पण्डितजी, तपाईंले बुझेको अरू केही छ भने भन्नुहोस्।’ मैले भनेँ।
पण्डितजी केही थप्न खोज्दै थिए। ‘लाल सलाम! जयनेपाल!’ भन्दै १ जना अत्याधुनिक कवि आइपुगे। उनी नयाँ नेपालका जल्दाबल्दा नयाँ कवि हुन्। नयाँ कविता लेखेपछि फुर्सद हुँदा मलाई पनि सुनाउन आइपुग्छन्। कविजीले सोफामा बसेर खल्तीमा हात पठाएका मात्र थिए, अप्रत्याशित रूपमा मैले भनें– ‘आज मेरो कविता सुन्नुहोस्।’ कविजी अलमलिए। मैले आफ्नो खल्तीको नोटबुक निकालेँ र भटाभट भट्भटाउन थालेँ– …।’
प्रतिक्रिया