पहिलो पटक मुख्यमन्त्री सोल्टा पुगे, कर्णाली करिडोर बनाउने योजना



हेमन्त पौडेल, धनगढी
प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट पहिलो पटक कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा शुक्रबार पुग्नुभएको छ। सुगम जिल्ला भएर पनि दुर्गम क्षेत्रको रूपमा रहेको सो ठाउँमा उच्च राजनीतिक नेतृत्व तथा कर्मचारीका उच्च तहका व्यक्ति पनि पुग्ने गरेका छैनन्। उच्च तहका व्यक्तिहरूको सो क्षेत्रमा भ्रमण नहुँदा उच्च व्यक्तिहरू सोल्टा पुग्दा समाचार बन्ने गरेका छन्।
गत वर्ष कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल पुगेपछि स्थानीय जनता खुसी भएका थिए। पञ्चायत कालमा एक पटकमात्र अञ्चलाधीश पुगेको सोल्टामा गत वर्ष घुम्ती शिविर लिएर त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी रिजाल सो क्षेत्रमा पुग्नुभएको थियो।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह केही समय अघि सो क्षेत्रमा पुग्नुभएको थियो तर मूख्यमन्त्री भट्ट भने पहिलो पटक सोल्टामा पुग्नुभएको हो। कणाली चिसापानी देखि करिब २० किलोमटिरको दूरीमा कर्णाली नदीको किनारमा रहेको सोल्टा क्षेत्रका जनता मुख्यमन्त्री पुगेपछि निकै खुसी भएका थिए।

मुख्यमन्त्रीलाई सो क्षेत्रमा लैजानका लागि कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाको भूमिका थियो। मुख्यमन्त्री सोल्टामा पुग्दा स्थानीय बासिन्दाले बाजागाजाका साथ स्वागत गरिएको थियो। स्थानीय राष्ट्रिय माविका विद्यार्थीले तयार गरेको आँपका पातको मालाले मुख्यमन्त्रीलाई स्वागत गरिएको थियो। पातले बनाएको माला निकै आकर्षित देखिएको थियो।

सो अवसरमा मुख्यमन्त्री भट्टले मालाको प्रशंसा गर्नुभएको थियो। बजारका प्लास्टिकका मालाभन्दा हरिया पाताका कलात्मक माला बनाउनु उत्तम रहेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो।

कर्णाली चिसापानीदेखि कच्ची सडकबाट सोल्टा पुग्नुभएका मुख्यमन्त्रीको सोल्टाबासीले भव्य स्वागत गरेका थिए। गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको समेत उपस्थितिमा स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षक र स्थानीय बासिन्दाले स्वागत गर्दै सोल्टा क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए। स्थानीय बासिन्दाका तर्फबाट नन्दराम बजगाईं र विभिन्न विद्यालयका प्रधानाध्यापकले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

स्थानीय राष्ट्रिय मावि सोल्टाको हाताभित्र आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको विकासका लागि आफ्नो सरकार गम्भीर भएर लाग्ने बताउनुभयो। बाटोघाटो निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइने आश्वासनसमेत मुख्यमन्त्री भट्टले दिनुभयो।

कर्णाली चिसापानी हुँदै कर्णाली करिडोरको परिकल्पना आफ्नो सरकारले गरेकाले सोल्टा क्षेत्रको भविष्य उज्वल रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सोल्टा क्षेत्रका जनताको समस्या समाधानका लागि वैकल्पिक सौर्य ऊर्जा कार्यक्रम लागू गरेर सो क्षेत्रको सिँचाइको समस्या समाधान गर्ने काममा लागेको उहाँले बताउनुभयो। कृषि जलस्रोत र पर्यटनलगायतका काम वर्तमान सरकारको प्राथमिकता रहेकाले त्यसतर्फ आफ्नो बढी ध्यान गएको बताउनुभयो।

समय अभावका कारण सोल्टाका जनतासँग भलाकुसारी गर्न नपाएको बताउँदै मुख्यमन्त्री भट्टले फेरि कुनै समयमा आएर जनतासँग भेट्ने बाचा दिनुभएको छ। सोल्टा पुग्नका लागि सडकको समस्या रहेको छ भने सो सडकमा पर्ने विभिन्न खोलामा पक्की पुल निर्माणको आवश्यकता आफूले महसुस गरेको उहाँले बताउनुभयो।

सोल्टा क्षेत्रलाई पर्यटनसँग जोड्न होमस्टेको परिकल्पना गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले पहाडी भूभाग भएकाले जनतालाई सेवा दिन कठिनाइ भएको बताउनुभयो। राज्यले पनि यो गाउँपालिकाको विकासका लागि अन्य क्षेत्रको तुलनामा बढी बजेट छुट्याएर विकासको कामलाई गति दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा प्रदेश सांसद रतन थापाले बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्