‘अस्पतालको अवस्थाले भावुक भएर रकम उठाएँ’

0
Shares

भगवती तिमल्सिना
काठमाडौं
हास्य कलाकार एवं धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले वीर अस्पतालको सरसफाइको नाजुक अवस्था देखेपछि भावुक भएर बिनायोजना रकम संकलन गरेको स्वीकार गर्नुभएको छ।

बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो। सोही सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताउनुभयो।

स्मरणीय छ, अस्पताल सुधारका नाममा कुनै योजना नै नबनाई धुर्मुस–सुन्तली फाउन्डेसनले सामाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेको विषयमा प्रश्न उठेपछि नेपाल समाचारपत्र दैनिकमा बिहीबार समाचार प्रकाशित भएको थियो। सो समाचार छापिएपछि स्वास्थ्य मन्त्रालय र उक्त फाउन्डेसनले बिहीबार नै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेका थिए।

स्वास्थ्य राज्यमन्त्रीको आग्रहपछि वीर अस्पताल सरसफाइमा जुटेको बताउँदै कलाकार कट्टेलले भन्नुभयो– ‘स्वास्थ्य मन्त्रालय, वीर अस्पताल र फाउन्डेसनको सहमतिमा काम शुरू भएको हो।

स्वास्थ्य राज्यमन्त्री र वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतलाई जानकारी गराएर फेसबुकमार्फत रकम संकलन गर्न थालेका हौं।’

उहाँले नेपाल समाचारपत्रमा प्रकाशित समाचारबाट आफू दुखी भएको बताउनुभयो। वीर अस्पताल सरसफाइका अभियन्तासमेत रहेका कट्टेलले फाउन्डेसनले १४ लाख ६४ हजार ८ सय ३५ रूपियाँ उठाएको र जापानलगायत विभिन्न कम्पनीबाट प्राप्त रंगरोगनको हिसाब गर्दा ४८ लाख ६४ हजार ३ सय ६५ रूपियाँको काम भएको जानकारी दिनुभयो। ८२ जना पेन्टरले रातदिन रंगरोगनको काम गरेको स्पष्ट पार्नुभयो।

‘सार्वजनिक ऐनअनुसार ५ लाखभन्दा माथिको काम गर्न कोटेसन या टेन्डर गर्नुपर्दछ। तर उक्त कार्य गर्नका लागि उक्त प्रक्रिया पूरा भएको देखिएन’ भन्दै वीर अस्पतालका कर्मचारीहरू बताउँछन्– ‘उहाँहरूले आर्थिक लाभ लिएको भन्दा पनि प्रक्रिया नपु¥याएकाले आलोचित हुनुपरेको हो।

राज्यमन्त्री अर्यालले अस्पताल सफाइमा चन्दा माग्ने प्रक्रिया सुधार्दै जाने प्रतिक्रिया दिँदै सबै कार्य सकिएपछि सम्पूणै हिसाब देखाउने प्रतिवद्धता जनाउनुभयो। सोही अवसरमा उहाँले स्वास्थ्य मन्त्रालयमा देशभरिका सरकारी अस्पतालको अनुगमन गर्ने डिजिटल प्रविधियुक्त महाशाखा खडा गर्ने जानकारी दिनुभयो। नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा.गणेश गुरुङले बिनास्वीकृति फाउन्डेसनले कार्य गर्दा समस्या आएको हो भन्नुभयो।

निर्देशक डा. बस्नेतले धुर्मुस सुन्तली फाउन्डेसनले वीर अस्पतालमा गरेको कामको प्रशंसा गर्दै वीर, स्वास्थ्य मन्त्रालय र फाउन्डेसनको सम्झौताअनुसार नै काम भएको बताउनुभयो। रंगरोगनको विषयमा काम सकिएपछि फाउन्डेसनले हिसाब दिने उहाँको भनाइ थियो।