पोखरीमा डुबेर ४ बालिकाको मृत्यु


यमलाल भुसाल, बुटवल
रूपन्देहीमा नुहाउने क्रममा पोखरीमा डुबेर ४ बालिकाको ज्यान गएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, १० वर्षीया मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन्।

बिहान साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरूको पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै ४ किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि १ किलोमिटर टाढा रहेको छ।

वडा नम्बर ११ का अध्यक्ष अकरामद्दिन खानले पोखरीमा बालिकाहरू डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरूलाई पोखरीबाट निकालेका थिए। मृतक बालिकामध्ये २ दाजुभाइका छोरी रहेको बुझिएको छ।

उक्त पोखरी प्राकृतिक पोखरीका रूपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन्। उनीहरूको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ। मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताउनुभयो।