झा ‘नागरिक दूत’ नियुक्त


नेपाल समाचारपत्र
काठमाडौं
चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका लागि ‘नागरिक दूत’ नियुक्त गरेको छ।

उक्त प्रान्तको सियान शहरमा अवस्थित सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत प्राडा झालाई सियान प्रान्तीय सरकारको विदेश मामिलासम्बन्धी कार्यालयमार्फत यही मे १६ मा उक्त नियुक्ति दिइएको हो।

चीनको कुनै पनि प्रान्तीय सरकारले त्यहाँ लामो समय बसेर विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गरेका र अन्य देशसँगको सम्बन्ध विकासमा उल्लेखनीय योगदान पु¥याउने विदेशी नागरिकलाई यस्तो ‘नागरिक दूत’ का रूपमा नियुक्त गर्ने गर्दछ।

प्राडा झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रस्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको जानकारी दिनुभयो।

यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एन्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्फ्युसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत २ नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्राडा झाले जानकारी दिनुभयो।

यसका लागि सियान नगरपालिका र उक्त विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवलको भ्रमणमा जान लागेको जानकारी पनि उहाँले दिनुभयो।
यसअघि गतवर्ष मात्र उहाँलाई सियान प्रान्तले नै चीनको एक बृहत् आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रूपमा नियुक्त गरेको थियो।

चिनियाँ राष्ट्रपति सि चिनफिङको गृह नगरसमेत रहेको सियान चीनको पुरानो ‘सिल्क रोड’ अवधारणाको उत्पत्ति भएको शहर पनि हो। पुरानो ‘सिल्क रोड’ अवधारणा नै चीनको वर्तमान वान वेल्ट वान रोड बृहत् आयोजनाको आधुनिक रुप हो।

पित्तथैलीको क्यान्सर रोगको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधि र त्यसपछि विद्यावाचस्पति (पोस्ट डक) पूरा गरी चिनियाँ विश्वविद्यालयमा प्राध्यापनरत डा.झाको नाममा सियान प्रान्तीय सरकारले ४ वर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा हाल क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी २ देशबीको चिकित्सकीय अनुभव आदानप्रदान हुने गर्छ। प्राडा झा हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुनुहुन्छ।