बाटो बनाउँदै ८ शेर्पा सगरमाथामा



दीपेन्द्र थापा, काठमाडौं
यस वर्षको सिजनमा ८ जना नेपाली आइतबार सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। यससँगै यस वर्षको सगरमाथा आरोहणको शुरूआत भएको हो।
नेपालतर्फको दक्षिणी मोहडाबाट बाटो बनाउँदै आइतबार विहान ३ वजे ३० मिनेटमा शेर्पाहरूको टोली चुचुरोमा पुग्न सफल भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले नेपाल समाचारपत्रलाई टेलिफोनमा जानकारी दिनुभयो।

शनिबार १ बजे हिडेको टोली आइतबार साढे ३ बजे चुचुरोमा पुगेको थियो। टोलीले ८ हजार ३ सय मिटरसम्म बाटो बनाउँदै गएको श्रेष्ठले जानकारी दिनुभयो। शेर्पाहरूले ८ हजार ३ सय मिटरसम्म भ¥याङ् बनाएर बाटो बनाएका थिए भने सोभन्दा माथि डोरीले बाटो बनाएका छन्। दुई महिनादेखि सगरमाथा आरोहणको लागि बेसक्याम्पमा १ सय १५ आरोही आरोहणको प्रतीक्षामा रहेको श्रेष्ठले बताउनुभयो।

आइतबार पासाङ तेन्जिङ शेर्पा, पास दावा शेर्पा, जेनजेन लामा, सिद्धबहादुर तामाङ, पेमछिरिङ शेर्पा, तेन्जिङ गिल्जिङ शेर्पा, दाटुक भोटेको टोलीले शिखरमा पुगेका हुन्। पर्यटक विभागका अनुसार यस वर्ष वैशाख २१ गतेसम्म १ सय ४ समूहले विभिन्न हिमाल आरोहणको लागि अनुमति लिएका छन्। जसमा ८ सय ३८ जना सम्लग्न रहेका छन् भने सगरमाथाको लागि ३४ समूहमा ३ सय २६ विदेशी र ४ नेपाली समूहसहित २० जनाले आरोहणको लागि अनुमति लिएका छन्। धौलागिरी हिमालमा ३ समूह सहित ३४ जना, लोत्सेमा १० समूह १ सय ७ जना, मकालुमा ३ समूहसहित २७ जना,मुस्ताङमा ४ समूह सहित ५० जनाले अरोहणका लागि अनुमति लिएका छन्।

विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै बढी नेपाली मोहडाबाट ४१ वटा आरोहण दलका ३ सय ७५ जनाले सगरमाथाका लागि मात्रै अनुमति लिएका थिए। सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ।

त्यस्तै नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्ने छ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यावस्था रहेको विभागले जनाएको छ। सन् २०१७ मा ४३ वटा समूहका ३ सय ६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३ सय १८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

सरकारले आरोहीहरको नियमन र अनुगमन गर्नको लागि ४ दर्जनभन्दा बढी अधिकारी खटाएको छ। जसका लागि मन्त्रालय र विभागबाट नासुदेखि उपसचिवसम्मका कर्मचारीलाई ७ दिनको तालिम दिएर खटाउने गरेको छ। पर्वतारोहण नियमावलीअनुसार ६ हजार ५ सयभन्दा बढीको उचाई भएको हिमाल आरोहणमा सरकारले सम्र्पक अधिकृत खटाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्