पूर्वराजा सिमरा जाँदै


ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने हुनुभएको छ।
उहाँसँगै उहाँका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायत कन्भेसहितको टोली करिब तीन साता लामो भ्रमणका लागि त्यसतर्फ जान लागेको निर्मल निवास स्रोतले जनाएको छ।

त्यस अवसरमा सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ।उक्त क्रममा उहाँले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्रले गत चैत ५ गते कमल थापा नेतृत्वको राप्रपा नेपाल, पशुपति शमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतालाई भेटेर आफू पुनः राजनीतिमा आउने इच्छा प्रकट गर्नुभएको थियो।

उहाँले फागुन २० गते भएको झापा भ्रमणका क्रममा राप्रपाका नेता सुरेश आचार्य, राजाराम श्रेष्ठ र सगुन लावती, राप्रपा नेपालका बुद्धिमान तामाङ, भाष्कर भद्रा र प्र≈लाद शाह र राप्रपा राष्ट्रवादी पार्टीका केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुष्मा आचार्यसँग भेट गर्नुभएको थियो।
सो अवसरमा पूर्वराजा ज्ञानेन्द्रले नयाँ नेतृत्वबाट सम्पूर्ण राजावादी र राष्ट्रिवादीलाई समेटेर नयाँ पार्टी खोल्ने प्रस्ताव गर्नुभएको थियो।

उहाँले तराईका राजावादी टोलीलाई भेट्ने र मठमन्दिर दर्शन गर्ने कार्यक्रम रहेको बताइए पनि कोकसलाई भेट्ने भन्नेबारे पछि टुङ्गो लाग्ने निर्मल निवास स्रोतको भनाइ छ।

मध्य तराई भ्रमणलगत्तै पूर्वराजा ज्ञानेन्द्रको भ्रमण पश्चिमाञ्चल हुने भएको स्रोतको दाबी छ। ‘गत आम निर्वाचनमा राजावादी पार्टीको हारपछि चिन्तामा रहेका पूर्वराजा उहाँ सबै राजावादीलाई एकीकृत गराउने प्रयासमा हुनुहुन्छ’ स्रोतले थप्यो– ‘त्यसै विषयमा गहन छलफलक गर्न सिमरा जान लाग्नुभएको हो।’

यसअघि पनि अंग्रेजी नयाँ वर्षको पू्र्वसन्ध्यामा मध्यपश्चिमको नेपालगन्जस्थित होटल सोल्टी उद्घाटन गर्न पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले पुस १७ गते होटल उद्घाटन गरेसँगै सुदूरपश्चिमको भ्रमण गर्नुभएको थियो। मध्यपश्चिमको भ्रमणका बेला उहाँलाई डोल्पा, हुम्ला र जुम्लाका राजावादीले भेटेका थिए। नेपालगन्जबाटै उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेट गर्न जानुभएको थियो।

लगत्तै माघ २२ गते भारतको उडिसा पुगी त्यहाँको गोवद्र्धनम् पुरी पिठका १ सय ४५औं जगद्गुरु शंकराचार्यको पट्टा भिषेक समारोहमा सहभागी हुनुभएको थियो।

यसैबीच पूर्वराजाको मध्य तराईलगायतका जिल्लाको भ्रमणका लागि करिब आधा दर्जन सवारी र आन्तरिक सुरक्षा टोली सिमरा खटाइँदै छ।