नेपाल समाचारपत्र
काठमाडौं
उद्योपति एवम् सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवद्र्धनमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ। बिहीबार संसदमा आर्थिक वर्ष २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै सांसद चौधरीले आन्तरिक एवं बाह्य लगानी अभिवृद्धिबाट मात्रै आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सम्भव हुने भएकाले यसतर्फ बजेटले विशेष ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो।
‘सिद्धान्तका कुरामात्रै गरेर अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन। सिद्धान्तका कुरा धेरै भए अब व्यवहारमा काम गरेर देखाउनुपर्ने समय आएको छ,’ सांसद चौधरीले सरकारलाई सुझाव दिँदै भन्नुभयो–‘बजेट कार्यान्वयन हुने प्रत्याभूितका साथ ल्याइनुपर्छ। विगतमा जस्तो पुँजीगत खर्च नै नहुने अवस्थाको अन्त्य हुनुपर्छ।’
तीनै तहको निर्वाचन सम्पन्न भएको र आर्थिक समृद्धिको अभियान अगाडि बढाउने जिम्मेवारीमा अर्थमन्त्री रहेको भन्दै सांसद चौधरीले भन्नुभयो–‘अर्थमन्त्रीज्यू नयाँ सोच र दृष्टिकोणका साथ बजेट तर्जुमा गर्नुस्। तपाईको सफलतासँग हाम्रो भविष्य गाँसिएको छ।’
नेपालमा लगानी अभिवृद्धि गर्न विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन पनि उहाँले आग्रह गर्नुभयोे। ‘चीन र भारतले सेजकै माध्यमद्वारा विश्वका लगानीकर्तालाई आकर्षित गर्न सम्भव छ भने नेपालले किन यसो गर्न सक्दैन ?’ सांसद चौधरीले भन्नुभयो–‘सेजको नाम दिएरमात्रै हँुदैन। सेजको मर्म अनुसार कार्यान्वयनमा ल्याउनुपर्छ।’
नेपालको एक्लो बहुराष्ट्रिय उद्यमी समेत रहेका सांसद चौधरीले सेजमा स्थापना हुने उद्योगलाई निश्चित रोजगारी उपलब्ध गराउने शर्तमा टयाक्स रिमिसनको सुविधा दिनुपर्नेमा जोड दिनुभयो। लगानी आकर्षित गर्न भारत, चीन र युरोपियन राष्ट्रहरूले समेत अहिले लगानीकर्तालाई यो सुविधा दिइरहेका छन्। ‘यसो गर्दा कर छुट दिइरहनु पर्दैन। लगानीकर्तालाई निश्चित अवधिसम्म क्यापिटल फर्मेसनमा सुविधा दिए हुन्छ। लगानीकर्ताले पुँजी परिचालन गर्न पनि सहज हुने र सरकारले कर पनि पाउने यो व्यवस्था अहिले विश्वभर लोकप्रिय छ।’
सरकारले आफैं उद्योगधन्धा चलाउने नभई लगानीका लागि वातावरण बनाइदिने काम गर्नुपर्छ। सरकारले आफंै उद्योग चलाउँदा के अवस्था हुन्छ भन्ने कुरा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना र हाल चलिरहेका नेपाल आयल निगम लगायतका सस्थानलाई हेर्दा प्रष्ट हुन्छ– सांसद चौधरीले भन्नुभयो–‘बजेट बनाइरहँदा स्पष्ट सोचका आधारमा अगाडि बढ्न आवश्यक छ।’
नेपालको निजी क्षेत्रका पनि कमजोरी छन् भन्दै यसको अनुगमन र उनीहरूलाई सही बाटोमा ल्याउने जिम्मेवारी सरकारको रहेको उहाँको भनाइ थियो। लगानी प्रवद्र्धन गर्न लगानी बोर्डको भूमिका प्रभावकारी बन्न आवश्यक रहेकोमा चौधरीले जोड दिनुभयो। लगानी आकर्षित गर्न नीति बनाउने, लगानी जुटाउने र यहाँ लगानी भइसकेकाहरूको समस्या सम्बोधन गर्ने जिम्मेवारीलाई लगानी बोर्डले प्रभावकारी रूपका कार्यान्वयन गर्न सक्नुपर्छ।
मन्त्रालयहरूसँग क्षेत्राधिकारको विवादमा रुमलिएर बस्न लगानी बोर्ड स्थापना गरिएको होइन भन्दै आर्थिक समृद्धि हासिल गर्न घडीको सूईको रफ्तारमा काम गर्न आवश्यक भएको भन्दै उहाँले यसका लागि शासकीय सुधार गर्नैपर्नेमा जोड दिनुभयो।
प्रतिक्रिया