सभामुख–अमेरिकी राजदूतबीच भेटवार्ता


नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

बुधबार सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत टेप्लिजले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटमा दुई देशबीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्रीसंघलगायतका विषयमा चर्चा भएकोे थियो।

भेटमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभयो। संविधान निर्माणपछि ३ तहको निर्वाचन सम्पन्न गरेर नेपालले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरू संविधानको मर्मअनुरूप नयाँ ऐन, कानुन निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

‘संविधान निर्माणपछि हामीले ३ चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं’, सभामुख महराले भन्नुभयो– ‘अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरूप ऐन कानुन निर्माण गर्नु हो। अहिले हामी कानुन निर्माणतर्फ बढी केन्द्रित छौं।’ संसद्को दोस्रो अधिवेशन भर्खरै शुरू भएको भन्दै सभामुख महराले सरकारले नीति, कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्ने, संसद् नियमावली बनाउनेदेखि थुप्रै नयाँ कानुन निर्माण गर्नुपर्ने भएकाले अहिलेको अधिवेशन निकै महत्त्वपूर्ण भएको बताउनुभयो।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्रीसंघ गठन गर्न आफू इच्छुक रहेको भन्दै सभामुख महराले यस्ता समूहले एक–अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताउनुभयो। अमेरिकी सरकारले यूएसएडमार्फत आर्थिक सहायता प्रदान गरिरहेको भन्दै उहाँले त्यसको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो।

सभामुखसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले नेपाल विधिको शासन र लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अब बन्ने कानुनहरू बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। ‘नयाँ कानुन बनाउँदा जतिसक्यो समावेशी र बलियो बनाउन अमेरिकामा सार्वजनिक सुनुवाइको परम्परा पनि छ’, राजदूत टेप्लिजले भन्नुभयो– ‘तपाईंहरूले पनि नयाँ कानुन बनाउँदा अमेरिकाको अभ्यास र अनुभव उपयोगी हुनसक्छ।’

आफूहरूको प्राथमिकता आर्थिक सुधारको क्षेत्र, मानव बेचबिखन, न्यायालयको सुधार, कृषि तथा ऊर्जासम्बन्धी क्षेत्र भएको भन्दै राजदूत टेप्लिजले त्यस क्षेत्रका ऐन कानुन निर्माणमा विश्वव्यापी लोकतन्त्र र मानवअधिकारका मान्यतामा नेपाल सहमत भएकामा आफू विश्वस्त रहेको बताउनुभयो।

भेटवार्तामा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, प्रवक्ता डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो।