प्रधानमन्त्रीसँग बेलायती सांसद प्रतिनिधिको भेटघाट


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रूचि नभएको बताउनुभएको छ। आफ्नो सरकार आउँदो ३ वर्षभित्र अति कम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताउँदै उहाँले देशको विकास र समृद्धिका लागि सबै छिमेकी राष्ट्रको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गर्नुभयो।
विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै उहाँले चीनको बेल्ट एन्ड रोडको योजना र भारतको सबको साथमा सबैको विकास गरिने नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गर्नुभयो।

अन्तरसंसद् युनियन, आईपीयूको बेलायती समूहको प्रतिनिधि मण्डलसँग आफ्नै निवासमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो। अढाइ दशकदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्समा प्रतिनिधित्व गरिरहनुभएका निगेल इभान्सको नेतृत्वमा आएका बेलायती सांसदहरूको प्रतिनिधि मण्डलमा डेभिड मोरिश, वीरेन्द्र शर्मा, केरी म्याकार्थी र माथिल्लो सदनका लर्ड बाल्फ हुनुहुन्थ्यो।

द्वन्द्वकालीन घटनाका सम्बन्धमा राखिएको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानुन, त्यसबेलाका घटनाहरूको सत्यतथ्य छानबिन गर्न बनाइएको आयोग र बेपत्ता पारिएकाको छानबिन गर्न बनाइएको आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाउनुभयो। उहाँले द्वन्द्वका दुवै पक्षमध्येका जोसुकै भए पनि मानवअधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेहरूलाई क्षमा नदिइने प्रष्ट पार्नुभयो।

नेपाल र बेलायतको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बेलायतको लोकतन्त्र र संसद्बाट नेपालले धेरै सिकेको बताउनुभयो। नेपाल भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण धर्म निरपेक्ष देश भएकाले कुनै पनि धर्म, संस्कृति अँगाल्नेप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको उहाँले प्रष्ट पार्नुभयो।

संविधानका ३१ वटा धारामा मौलिक हकको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको उल्लेख गर्नुभयो। निर्वाचित निकायमा महिला सहभागितामा उल्लेखनीय ढंगले वृद्धि भएका कारण राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको सहभागिता र सामाजिकीकरणको प्रक्रियामा अभिवृद्धि भएको बताउनुभयो।